शुद्ध पिउने पानीको अभावले लकडाउनमा धेरै दुःख खेप्नुपरेको स्थानीयहरूको गुनासो
करिश्मा गुरुङ
१३ असार, देवघाट
तनहुँको देवघाटमा विभिन्न मठ मन्दिर र धार्मिक स्थलको भ्रमण र अवलोकनकोलागि दैनिक सयौं भक्तजन आउने गर्छन् । विभिन्न मठ मन्दिर र धर्मशाला रहेको देवघाटमा देश तथा विदेशबाट आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्छ्न । तर ति पर्यकटलाई लक्षित गरि सार्वजानिक ढुङ्गेधाराहरु पर्याप्त मात्रामा नहुँदा भक्तजनमा समस्या पर्दै आईरहेको छ ।



पछिल्लो समयमा पुर्वधार विकासमा देवघाट गाउँपालिका निकै अगाडी बढेता पनि कोभिड–१९ महामारीको समयमा शुद्ध पिउने पानीको अभावले धेरै दुःख खेप्नु परेको जनगुनासो आएको छ । खानेपानीको अभाव रही आएको देवघाटमा झोलेुङ्गे पुलको मुखमा रहेको एकमात्र ढुङ्गेधारमा पानी भर्न जान पनि निकै डर भएको स्थानीयको गुनासो छ । कोभिड महामारीबाट जोगिन एक ठाउँमा चार÷पाँच जना भन्दा बढि भेला हुन नपाईने तथा भौतिक दुरी कायम गर्नु पर्ने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्नु पर्नेमा ढुङ्गेधारामा पानी भर्न एकै पटकमा दर्जनौ व्यक्ति भेलाहुनु पर्ने अवस्था रहेको छ ।
देवघाटका नागरिकहरूले धेरै वर्ष पहिले देखि नै यस ढुङ्गेधाराको पानी उपभोग गर्दै आइरहेका छन् । देवघाट पुलको मुखमा घर हुनेहरूलाई त खासै समस्या भएन तर टाढा टढा घर हुनेहरुलाई भने निकै समस्या परेको छ । देवपुर, सारूटोल, टाउनचोक र अन्य ठाउँका नागरिकहरूले उक्त ढुङ्गेधारामा आएर पानी भरेर लैजानु पर्ने अवस्थाबाट निकै पीडित भएका छन् । वर्षाको समयमा जताततै बाढीपहिरो जाने, त्यसले पानीका मुहानहरू पुरिने, भएका पाइपहरू बगाउने जस्ता समस्याले भएको खानेपानी पनि नआउनाले ढुङ्गेधारा नै एकमात्र विकल्पको रुपमा रहेको छ ।
खानेपानीको उक्त समस्याको बारेमा छलफल गर्न शनिबार स्थानीय बासिन्दाहरुको भेला नै बसेको थियो । गणेश टोल अन्तरगत पुलको मुखमा रहेको ढुङ्गेधारालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा भएको छलफलले केही निर्णयहरु गरेको सोही टोलका नागरिक अमृत घिमिरेले जानकारी दिएका थिए ।
वडा अध्यक्ष यालबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको भेलामा विगत ४० वर्ष भन्दा पहिलेदेखि दिनरात निरन्तर बगेर खेर गईरहेको पानीलाई व्यवस्थित गरेर त्यस क्षेत्रका पाँच सय घरधुरीलाई पुग्ने गरि शुद्ध पिउने पानी उपलब्ध गराउने उद्वेश्यले सात सदस्यीय समिति गठन गरिएको युवा नेता एवं सोही टोलका नागरिक सान श्रेष्ठले बताए ।
देवघाट गाउँपालिकाको ‘एक घर एक धारा’ भन्ने मुल नारालाई आत्मसात गर्दै त्यसलाई साकार पार्न र देवघाटवासीहरु हरेकको घर÷घरमा पानी पु¥याउनको लागि आफ्नो तर्फबाट आफुले सक्ने सहयोग सदैब गर्ने प्रतिबद्धता गरेका छन् ।
वडा नम्बर ५ का वडाध्यक्ष यालवहादुर गुरूङले कार्यकाल ४ वर्ष भैसक्दा पनि शुद्ध खानेपानीको राम्रो तरिकाले व्यवस्थित गर्न नसकेको बताउदैँ आगामी आर्थिक वर्ष २०७८÷०७९ को गाउँपालिकाको नीति तथा कार्यक्रम पास भैसकेको र त्यसमा नसमेटिएका योजनाहरू वडाको योजनामा समेटेर कार्यलाई अघि बढाउने बताएका छन् । उनले मानवजातीकालागि पहिला पानी अत्यावश्यक हुने भएको हुदाँ आगमि दिनहरूमा पानीलाई पहिलो प्राथमिकता दिएर सम्बोधन गरिने बताए ।
ढुङ्गेधाराको पानी देवघाटमा रहेका अधिकांश खानेपानी भन्दा राम्रो भएकोले त्यसलाई नै व्यवस्थित गर्न खोजीएको गुरूङको भनाइ थियोे । देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले शुद्ध पिउने पानी देवघाटवासिहरूको लागि ढुङ्गेधाराको अति उत्तम हुने भएकोले त्यसलाई नै व्यवस्थित गर्न अति उत्तम रहेको बताउदैँ जिउनको लागि जलको सबैभन्दा ठुलो महत्व रहेकोले पहिला पानीलाई प्राथमिकता दिएर अन्य क्षेत्र समेट्न स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
देवघाटमा अहिले मात्रै हैन पहिले पनि यस्तै समस्याहरु आइरहन्थ्यो समाधान गर्ने स्रोतहरु भएतापनि त्यसको व्यवस्थित हुन नसकेको वडा नम्बर ५ का वडा सदस्य भोजराज नैनावस्तिले बताए । उनले प्रकृतिले दिएको संरचनालाई बुझेर व्यवस्थापन गर्न सकियो भने भावि पुस्ताहरूले अहिलेको जस्तो समस्यासँग झेल्नु र भोग्नु नपर्ने बताएको थियो ।
यस्तै गणेश टोल निवासी भुवनसिंह गुरूङले युवाहरूले ल्याएको प्रस्तावको एकदम अति नै आवश्यक रहेको बताउदै धन्यवाद प्रकट गरे । उनले त्यस धाराको पानीलाई व्यवस्थित गर्न सकियो भने देवघाटवासिलाई अन्तको पानी ल्याउनै नपर्ने बताउदैँ यसको व्यवस्थापन गर्न आफुले पनि सक्दो सहयोग गर्ने समेत बताए । यो वर्ष देवघाटवासिहरू पानीको कारण समस्यामा रहेको बताउदैँ यही ढुङ्गेधाराको पानीलाई सदुपयोग गर्न सकियो भने पानीको समस्या समाधान गर्न सकिने उनले बताए ।
स्थानीय भवानी प्रसाद तिमिल्सिनाले देवघाटमा झन्डै २१ वर्ष पछि पानीको विषयमा छलफल भएको बताए । उनले आजभन्दा २१ वर्ष पहिले पनि यस पानीको विषयमा कुराकानी भएको बताउदै ढुङ्गेधारालाई नै आधार मानि व्यवस्थित गर्न सकियो भने देवघाटवासि पानीको हाहकारमा जीवन गुजार्न नपर्ने बताए ।












