दमौली, फागुन २९
गत असोज २३ गते प्रतिनिधि सभाको उम्मेदबारी दर्ता दिन नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई आफ्ना समर्थकहरु सहित निर्वाचन अधिकृतको कार्यालय जाँदै थिए । उम्मेदबारी दर्ता गर्ने अन्तिम समय भईसकेको थियो । भट्टराईले आफ्ना वारेसलाई निर्वाचन अधिकृतको कार्यालय पठाईसकेका थिए । पार्टीबाट टिकट नपाएपछि भट्टराईले तनहूँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदबारी दर्ता गर्ने तयारी गरेका थिए ।



आफ्ना वारेसलाई निर्वाचन अधिकृतको कार्यालय पठाएपनि भट्टराई भने दमौलीको सफासडक स्थित एक होटलमा बसेर अझै पनि केही बार्गेनिङ गर्न सकिन्छ की भन्ने प्रतिक्षामा थिए । भट्टराईको वारेस निर्वाचन अधिकृतको कार्यालयमा पुगेको जानकारी पाएपछि नेपाली काँग्रेसका तत्कालिन बरिष्ठ नेता तथा हालै निर्वाचित राष्ट्रपती रामचन्द्र पौडेलले भट्टराईलाई फोन गरि भेट्न चाहेको सन्देश दिए । त्यसपछि पौडेल र भट्टराई विच उक्त होटलमै वान टु वान वार्ता भयो ।
उक्त वार्तामा पौडेलले चुनाव पछि आफु प्रधानमन्त्री या राष्ट्रपती बन्ने उच्च सम्भावना रहेको हुँदा अन्तिम पटक सहयोग गर्न पौडेललाई अनुरोध गरे । त्यसको वदलामा आफु राष्ट्रपती भएमा रिक्त हुने निर्वाचन क्षेत्रमा भट्टराईलाई टिकट दिलाउने तथा प्रधानमन्त्री भएमा राजनीतिक सल्लाहाकार या राष्ट्रिय सभामा सांसद बनाउने आश्वासन पौडेलले दिए । पौडेलको उक्त आश्वासनपछि भट्टराईले अन्तिम समयमा आफ्ना वारेसलाई निर्वाचन अधिकृतको कार्यालयबाट फिर्ता बोलाएका थिए । त्यसपपिछ भट्टराई गठबन्धनका उम्मेदबारलाई जिताउन चुनावी कमान्डर भएर फिल्डमा खटिएका थिए ।
अहिले पौडेल राष्ट्रपती बनेका छन् । पौडेल राष्ट्रपती बनेपछि रिक्त रहेको तनहूँ क्षेत्र नम्बर १ मा उनै केन्द्रीय सदस्य गोविन्द भट्टराईले उपचुनाव लड्ने चाहाना राखेका छन् । संविधान अनुसार ६ महिना भित्र उपचुनाव भईसक्नुपर्छ । सम्भवत बैशाख दोश्रो सातामा उपचुनाव भईसक्छ । उपचुनाव लड्ने आफ्नो चाहाना भट्टराईले राष्ट्रपती पौडेल र पार्टी सभापती शेरबहादुर देउवा समक्ष पनि राखिसकेका छन् र चुनावी तयारीको लागि गाउँ–गाउँमा जान थालिसकेका छन् । तर भट्टराईलाई टिकटको भने अझै ग्यारेन्टि भएको छैन । तनहूँ क्षेत्र नम्बर १ वर्तमान राष्ट्रपती रामचन्द्र पौडेलको राजनीतिक विरासत बोकेको क्षेत्र हो । जहाँबाट पौडेलले पाँच पटक चुनाव जितेका थिए । र अन्तिम पटक यही क्षेत्रबाट चुनाव जितेर सितल निवासको यात्रा सहज बनाएका थिए । उक्त क्षेत्रमा एक पटक एमालेको किसान श्रेष्ठले जितेको बाहेक अरु चुनावमा पौडेल नै बिजयी बन्दै आएका थिए । उक्त क्षेत्रबाट अब भविष्यमा पौडेल कहिलेपनि चुनाव लड्ने छैनन् । किनकी नेपालको संविधानले राष्ट्रपती भईसकेको व्यक्ति पुनः राजनीतिक जिवनमा फर्कने परिकल्पना गरेको छैन ।
आफु राजनीतिमा नफर्कने भएपनि पौडेलले आफ्नो निर्वाचन क्षेत्रमा पक्कै पनि आफ्ना विश्वासपात्रलाई नै उम्मेदबार बनाउने पक्का छ । काँग्रेसबृत्तमा यो पनि चर्चा सुरु भईसकेको छ । तनहूँ क्षेत्र नम्बर १ को टिकट वितरणमा पार्टी सभापती शेरबहादुर देउवाले मात्रै चाहेर पनि सहज हुनेछैन । हिजोसम्म काँग्रेस भित्र ओझेलमा पौडेल राष्ट्रपती बनेपछि एकाएक शक्तिशाली बनेका छन् । अव तनहूँ क्षेत्र नम्बर १ को टिकट पौडेलले जसलाई चाह्यो, उसैले पाउने पक्का छ । राष्ट्रपती पौडेलले आफ्नो विश्वासपात्रलाई नै आफ्नो निर्वाचन क्षेत्र जिम्मा लगाउने छन् ।
राष्ट्रपती पौडेलको चाहाना र योजनालाई आईतबार विहान नेपाली काँग्रेसका महासमिति सदस्य रामचन्द्र पोख्रेलको फेसबुक स्टाटसले पनि केही हदसम्म पुष्टि गर्छ । काँग्रेस तनहूँका पुराना नेता समेत रहेका पुर्व सांसद पोख्रेलले एकपल्ट पार्टीले आफुलाई न्याय गर्नु पर्ने भन्दै नेतृत्व समक्ष अपिल गरेका छन् । पोख्रेलले सामाजिक सन्जालमा लेखेका छन्–‘सम्माननीय नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल यस पदमा निर्वाचित हुनु भएपछि तनहूँ प्रतिनिधि सभा क्षेत्र नं १ रिक्त भएको छ । सो रिक्त स्थानमा हुने उप निर्वाचनमा मैले दृढ संकल्पका साथ उमेदवारीका लागि दावी गरेको छु ।’
‘२०४६ मा बहुदलीय प्रजातान्त्रिक ब्यवस्था पुनर्थापना भए पश्चात देखि प्रतिनिधि सभाका लागि ‘प्रत्यक्ष निर्वाचन लडने’ मेरो संकल्प अहिले पनि रहिरहेको छ । मलाई एकपल्ट प्रत्यक्ष निर्वाचन लडने अवशर दिईनु पर्दछ भन्ने मेरो दावी छ । पार्टीको केन्द्र देखि सबै तहसंग हात जोडेर बिनम्र अनुरोध छ–मलाई न्याय गरिनु पर्दछ ।’ पोख्रेलले लेखेका छन् । पोख्रेलको उक्त स्टाटसपछि धेरैले भट्टराईको सांसद बन्ने बाटोमा पोख्रेल बाधक बन्न सक्ने अनुमान गरेका छन् । त्यसैगरि हालसम्म कुनै पनि राजनीतिक लाभको पद नपाएका नेपाली काँग्रेस तनहूँका पुर्व सभापती रघुनाथ पौडेलले पनि तनहूँ क्षेत्र नम्बर १ मा आफुले टिकट पाउनु पर्ने दावी गरेका छन् ।
खासमा तनहूँ क्षेत्र नम्बर १ को राजनीतिक लिगेसी कसले जिम्मा लिने भन्नेमा नै काँग्रेस भित्र लडाई सुरु भईसकेको छ । काँग्रेसको गढको रुपमा रहेको उक्त क्षेत्र भट्टराईलाई जिम्मा लगाउन अर्का प्रभावशाली केन्द्रीय सदस्य शंकर भण्डारी पनि तयार छैनन् । साथै व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने पनि भट्टराईलाई उक्त क्षेत्र जिम्मा लगाउन तयार छैनन् । यसपटक उपचुनावमा पोख्रेललाई टिकट दिलाउने र पाँच वर्षपछि उक्त क्षेत्र व्यास नपाका मेयर न्यौपानेलाई जिम्मा लगाउने राष्ट्रपती पौडेलको चाहाना रहेको काँग्रेसका एक नेताले बताए । यसपटक उपचुनाव मार्फत भट्टराई संसद छिरे भने उनले पनि पौडेलले झै उक्त क्षेत्रमा पकड जमाउने र अन्य नेताले भविष्यमा अवसर नपाउने हुँदा यसैपटक भट्टराईको बाटो छेक्न भण्डारी र न्यौपानेहरु लागि परेको काँग्रेसका एक नेताले बताए ।
केन्द्रीय सदस्य भण्डारी पाँच वर्षपछिको चुनावमा क्षेत्र नम्बर १ मा आउन चहान्छन् । व्यास नपाका मेयर न्यौपानेको पनि अव पाँच वर्षपछिको राजनीति संसदीय क्षेत्रमै हो, उनलेपनि अर्काे चुनावमा क्षेत्र नम्बर १ बाट निर्वाचित भएर संसद छिर्ने योजना अहिलेदेखी नै बनाईसकेका छन् । त्यसैकारण तनहूँ काँग्रेस भित्रको दुईवटा प्रतिश्पर्धी गुटको नेतृत्व गरेका भण्डारी र न्यौपानेले राष्ट्रपती रामचन्द्र पौडेलको राजनीतिक लिगेसी रहेको तनहूँ क्षेत्र नम्बर १ को जिम्मा उपचुनाव मार्फत केन्द्रीय सदस्य भट्टराईलाई जिम्मा लगाउन चाहेका छैनन् । यी र यस्तै कारणले भट्टराईले आफुनै टिकटको हकदार भएको दावी गर्दै आएपनि त्यो सम्भावना टाढा टाढा बन्दै गईरहेको काँग्रेसका नेताहरुले अनुमान गरेका छन् ।












