दमौली, बैशाख १०
आईतबार भएको तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन शान्तिपुर्ण, स्वतन्त्र र उत्साहजनक रुपमा सम्पन्न भएको छ । तनहुँका ६९ मतदान स्थलका १५२ मतदान केन्द्रमा विहान ७ बजेदेखी साँझ ५ बजेसम्म भएको निर्वाचन शान्तिपुर्ण र भयरहित तरिकाले सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार तनहुँमा ५३ प्रतिशत मतदान भएको छ । गत मंसिर ४ गते भएको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो । तनहुँमा आवुँखैरेनी गाउँपालिकामा १३६२२ मतदाता मध्ये ६७६९ मत खसेको छ । त्यस्तै देवघाट गाउँपालिकामा १२७१२ मतदाता मध्ये ६३१६ मत खसेको छ, बन्दिपुर गाउँपालिकामा १५६७८ मतदाता मध्ये ७८३० मत खसेको ।
त्यसैगरि भानु नगरपालिकामा ४०८४४ मतदाता मध्ये २०८७९ मत खसेको छ भने व्यास नगरपालिकामा ४०४४९ मतदाता मध्ये २२४२५ मत खसेको छ । तनहुँमा सबैभन्दा धेरै व्यासमा ५५.४४ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचन भएका तनहुँ १, चितवन २ र बारा २ मा समग्रमा ६० प्रतिशत मतदान भएको छ । जसमध्ये बारा क्षेत्र नम्बर २ मा ६४ प्रतिशत र चितवन क्षेत्र नम्बर २ मा ६३ प्रतिशत मतदान भएको छ । यस उनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २४७ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।