दमौली, बैशाख १०
तनहुँ मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट मतपेटिका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम सुरु भएको छ । यो समाचार तयार पार्दासम्म करिब आधा मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन कार्यालयमा ल्याईसकिएको छ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ः०० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ ।
मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगले दिएको विशेष निर्देशन बमोजिम यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृजना भएमा निर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले उपनिर्वाचन सम्पन्न गराउने कार्यमा भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, मतदाता, पर्यवेक्षक, सञ्चारमाध्यम, निजी क्षेत्र, नागरिक समाजलगायत सबै क्षेत्र र समुदायप्रति धन्यवाद ज्ञापन गरेको छ ।