दमौली, जेठ १
आँबुखैरेनी गाउँपालिकाले आँखा अस्पताल सन्चालनमा ल्याएको छ । आवुँखैरेनी अस्पतालमा सोमबारबाट आँखा उपचार केन्द्र पनि सन्चालनमा ल्याइएको हो । उक्त आँखा उपचार केन्द्रको सोमबार गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उद्घाटन गरे ।



सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष चुमानले गाउँपालिकाले छोटो अवधिमा स्वास्थ्य क्षेत्रमा उदाहरणीय कार्य गरेको बताए । आँबुखैरेनीका नागरिकलाई उपचार नपाएर मर्नुपर्ने अवस्था आउँन नदिन गाउँपालिका सचेत रहेको उनले बताए । आँबुखैरेनी अस्पताललाई जति सक्दो चाँडो स्वास्थ्य बीमामा सूचिकृत गर्न लागेको अध्यक्ष चुमानले बताए ।

‘आर्थिक अभावका कारण उपचार नपाएर मर्नु पर्दैन’ अध्यक्ष चुमानले भने ‘गाउँपालिकाले बिकासे खर्च कटाएर भएपनि उपचार गर्छौ ।’ मान्छेले उपचार नपाएर ओछ्यानमै छटपछाउने कुरा हाम्रो लागि स्वीकार्य हुनै नसक्ने अध्यक्ष चुमानले बताए ।
सो कार्यक्रममा नेपाल नेत्रज्योति संघ हिरालाल सन्तुदेव प्रधान नेत्रविज्ञान अध्ययन संस्थानका केन्द्रीय उपाध्यक्ष ऋषिराम पौडेल, सोही संस्थाका सदस्य रामप्रसाद कँडेल, भरतपुर आँखा अस्पतालका अध्यक्ष कृष्णराज पौडेल, भरतपुर आँखा अस्पताल चितवनका डा.पुष्प गिरी, कार्यक्रम संयोजक रमेश घिमिरे लगायतका वक्ताहरुले आँखा उपचार सेवा सन्चालनसंगै यस क्षेत्रका नागरिकलाई उपचारमा सहज हुनेमा जोड दिए ।

नेपाल नेत्रज्योति संघ हिरालाल सन्तुदेव प्रधान नेत्रविज्ञान अध्ययन संस्थान, भरतपुर आँखा अस्पताल चितवन र आँबुखैरेनी गाउँपालिकाको संयुक्त सहकार्यमा आँखा उपचार केन्द्र शुरु गरिएको हो । सो अस्पतालको लागि भरतपुर आँखा अस्पताल चितवनले दुई जना र र गाउँपालिकाले एक जना कर्मचारी व्यवस्थापन गरी सेवा प्रवाह गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए ।
आवुँखैरेनीबासीको आँखा उपचार गरे वापत भरतपुर आँखा अस्पताललाई आवुँखैरेनी गाउँपालिकाले बार्षिक एकमुष्ठ ६ लाख उपलब्ध गराउने र अस्पतालले टिकट दस्तुरबाट संकलन भएको रकमको २० प्रतिशत गाउँपालिकालाई फिर्ता गर्ने सहमति भएको अध्यक्ष चुमानले बताए । आँखा अस्पतालकोलागि गाउँपालिकालको २ वटा कोठा उपलब्ध गराउने छ ।

आवुँखैरेनी गाउँपालिकाले यस अघि १५ शैय्याको आँबुखैरेनी अस्पताल संचालनमा ल्याएको छ । उक्त अस्पताल सन्चालन पछि तनहुँ सहित गोरखा र चितवनका केही स्थानीय तहका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउँदै आएका छन् । अस्पतालमा एक जना एमडिजिपी, दुई जना मेडिकल अधिकृत र अन्य स्वास्थ्यकर्मीले बिरामीलाई सेवा दिदै आएको सो गाउँपालिका कार्यालयले जनाएको छ ।












