दासढुङ्गामा मनाईयो मदन–आश्रीत स्मृति दिवस

Devghat Online

शेयर गरौ

चितवन, जेठ ३

नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३० औँ स्मृति दिवसका अवसरमा बुधबार दासढुङ्गामा श्रद्धाञ्जली सभा आयोजना गरियो । नेकपा (एमाले) चितवनले नेताद्वयको स्मृतिमा सो श्रद्धान्जली कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीले मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ लाई एमालेले प्रमुख कार्यदिशा बनाएर अघि बढेको चर्चा गर्दै यसबाट विचलित नहुने बताए । ‘हाम्रो अभियानलाई अघि बढाउँदै गर्दा हाम्रा व्यवहार, आचरण, सक्रियतामा, पहलकदमीमा, जनताका सेवामा केही कमीहरु पनि रहेका छन्’, उनले भने ‘त्यो कुरालाई महसुस गर्दै यिनलाई सच्याउँदै अघि बढ्ने छौँ, हामी मदन आश्रितले भने बमोजिमका परिवर्तनकारी सच्चा कार्यकर्ता भएर समाजको अधुरो क्रान्तिलाई पूरा गरी छाड्नेछौँ ।’

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले पार्टीमा चौतर्फी आक्रमण भएको भन्दै मदन आश्रितको प्रेरणाले आक्रमणलाई परास्त गर्ने बताए । सो अवसरमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला स्तरका नेता तथा कार्यकर्ताले मदन आश्रितको प्रतिमामा फूलमाला चढाएर श्रद्धासुमन व्यक्त गरेका थिए ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको रहस्यमय जिप दुर्घटनामा परी नेताद्वय भण्डारी र आश्रितको निधन भएको थियो । जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए । उक्त घटनाको एकमात्र साक्षी अमर लामाको वि.सं २०६० मा हत्या भएपछि त्यो घटना रहस्यमयी बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू