देवघाट, जेठ ३
देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले देवघाटका जनताको घरमा खानेपानीको सुविधा पुर्याउँदा आफ्नो विरुद्धमा अनर्गल प्रचार गरिएको बताएका छन् । केही सन्चार माध्यममा हालै देवघाट आफ्नो फोटो सहित देवघाट खानेपानीमा लापरवाही भन्ने बारेमा समाचार प्रकाशित भएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको उपाध्यक्ष गुरुङले बताए । बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरि उपाध्यक्ष गुरुङले जनताको घरमा स्वच्छ खानेपानी पु¥याई केही मात्रामा भएपनि खानेपानीको समस्या समाधान गर्न खोज्दा चरम लापरवाही भयो भनि गरिएको आरोपलाई अस्विकार गरेको जनाएका छन् ।



देवघाट ५ मा विगतदेखी नै खानेपानीको समस्या रहेको कुरा सबैलाई जानकारी भएको भन्दै उपाध्यक्ष गुरुङले खानेपानी जस्तो अत्यावश्यक कुरालाई ध्यानमा राख्दै हाल निर्माणाधिन अवस्थामा रहेको क्वादी खोला देवघाट सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत ल्याईएको पानी डुम्रेल खानेपानीको ट्यांकीमा राखी उपभोक्ताहरु समक्ष पुर्याउँने लक्ष्य रहेको अवस्थामा आफ्नो विरुद्धमा सन्चारमाध्यममा गलत प्रचार गरिएको गुरुङले जनाएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष गुरुङ क्वादी खोला देवघाट सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष समेत हुन् । कानुनले स्थानीय तहका जनप्रतिनिधिहरु कुनै पनि उपभोक्ता समितिमा बस्न नपाईने सम्बन्धमा व्यवस्था गरेको छ । तर गुरुङले यसबारेमा भने कुनै कुरा उल्लेख गरेका छन् । उपभोक्ता समिति मार्फत भएको विकास निर्माणको कामको अनुगमन गर्ने जिम्मेबारी समेत स्थानीय तहका उपाध्यक्षलाई हुन्छ । तर आफै अनुगमन गर्ने निकायको प्रमुख अनि आफै उपभोक्ता समितिको पनि अध्यक्ष हुन गुरुङ ।
यता नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले गाउँपालिकाको उपाध्यक्षलाई उपभोक्ता समितिको अध्यक्ष बनिरहन कानुनले नदिने बताएका छन् । ‘योजनामा के छ कसो छ जनताले तेति बुझ्दैन तर उपाध्यक्ष भए पछि तपाई उपभोक्ता समितिको अध्यक्ष नै भैरहनु कानुनले दिदैन सबैलाई थाहानै छ ।’ न्यौपानेले भने ‘अहिले पनि तपाईले विज्ञप्ती सँगसँगै उपभोक्ता समितिको अध्यक्ष पदमा नरहेको जानकारी गराउनु पर्ने थियो ।’ राजिनामा बिनाको विज्ञप्ति आफैंमा हास्यास्पद रहेको न्यौपानेले बताएका छन् ।












