दमौली, असार २०
म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा दुधमा मात्रै १४ लाख ९८ हजार ५ सय ८२ रुपैयाँ अनुदान दिएको छ । म्याग्देले दुधमा प्रतिलिटर ९ रुपैयाँ २० पैसा अनुदान दिने निर्णय गरेको थियो । सोही अनुसार १ लाख ६२ हजार ८ सय ८९ लिटरको दुधमा उक्त अनुदान रकम कृषकलाई उपलब्ध गराएको हो ।



सहकारी मार्फत दुध विक्री गर्ने कृषकलाई उक्त अनुदान दिईएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । जस अनुसार शुक्लागन्डकी नपा–७ को गौ सेवा दुग्ध उत्पादक सहकारी संस्था मार्फत २३ हजार ६८ लिटर दुधको अनुदान वापत २ लाख १२ हजार २३२, म्याग्दे गाउँपालिका–४ स्थित म्याग्दे दुग्ध उत्पादक सहकारी संस्था मार्फत १ लाख २१ हजार ८६८ लिटर दुधको ११ लाख २१ हजार १८५ र व्यास नपा–४ स्थित साँगे चार हजार दुग्ध उत्पादक सहकारी संस्था मार्फत १७ हजार ९५२ लिटर दुधको १ लाख ६५ हजार १६३ रुपैयाँ अनुदान स्वरुप उपलब्ध गराईएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको पशु सेवा शाखाको दुधमा अनुदान कार्यक्रम अन्तर्गत वितरण गरिएको सो अनुदान रकम बुधबार गणेश आमा समुह भवनमा म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थाका कृषकहरुलाई उपलब्ध गराईएको थियो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष श्रीप्रासाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, आर्थिक विकास समितिका संयोजक एवं वडा नम्बर ७ का अध्यक्ष बसन्तकुमार श्रेष्ठ, वडा नम्बर ३ का अध्यक्ष टुकराज अधिकारी तथा पशु सेवा शाखाका प्रमुख डा. विनय शाहद्वारा कृषकहरुलाई उपलब्ध गराईएको थियो ।

म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नवराज घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रेष्ठले दुधमा आत्मनिर्भर बनाउन र कृषकलाई गाउँपालिकाको तर्फबाट सहयोग गर्ने उद्देश्यले अनुदानको कार्यक्रम सन्चालन गरेको बताए । उनले गाई भैंसीको दुध मात्र नभई मलमुत्रलाई पनि कृषीसँज जोडेर अर्गानिक उत्पादनमा जोड दिनु पर्ने बताए । अध्यक्ष श्रेष्ठले गाउँपालिकाले कृषि र पशुपालनलाई अझै व्यवस्थित गर्दै लैजाने बताए ।
सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिकामा उत्पादित दुधलाई स्थानीय स्तरमै खपत गर्ने वातावरण मिलाउनु पर्ने बताए । यो कार्यक्रम उत्पादनमा आधारित अनुदान भएकोले कृषकहरुले उत्पादनलाई अझ बृद्धि गर्न लाग्नु पर्नेमा उपाध्यक्ष घिमिरेले जोड दिए । उपाध्यक्ष घिमिरेले दुध र दुध जन्य उत्पादनलाई विद्यालयको दिवा खाजामा प्रयोग गर्न सकेमा स्थानीय स्तरमै सबै दुध खपत हुन सक्ने बताए ।
गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख डा. शाहले म्याग्देवासीले उत्पादन गरेको दुध छिमेकी पालिकामा सहकारी मार्फत विक्री गरेकोलाई पनि अनुदान कार्यक्रममा सहभागी गराईएको बताए । शाहले अनुदान कार्यक्रम आगामी आर्थिक वर्षमा पनि निरन्तर हुने भन्दै अझ उत्पादनमा बृद्धि गर्न लाग्नु पर्ने बताए । उनले गाई भैसीको थुनेलो परिक्षण तथा उपचार शिविर, घाँसको नर्सरी स्थापनाको कार्यक्रम तथा लम्की स्किन रोगको विरुद्ध गाई भैसीलाई खोप तथा उपचारको कार्यक्रम पनि रहेको जानकारी दिए ।
सो कार्यक्रममा सहकारीका अध्यक्ष घिमिरेले दुधमा अनुदान कार्यक्रम, सुत्केरी पोषण खर्च, पशु विमा तथा अन्तरजिल्ला ढुवानी जस्ता कार्यक्रमबाट दुग्ध उत्पादक कृषकहरुलाई लाभान्वित रहेको बताए । सो कार्यक्रमको सन्चालन म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थाका सचिव बालचन्द्र घिमिरेले गरेका थिए ।












