देवघाट, असार २१
२०७९ सालको एसइई परिक्षामा देवघाटमा सन्चालित तिन वटै संस्कृत गुरुकुलले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । देवघाट गाउँपालिका–५ मा सन्चालित महेश संस्कृत गुरुकुल, बेद बेदाङ्ग विद्यालय र परमानन्द संस्कृत गुरुकुलका विद्यार्थीहरुले उत्कृष्ट अंक सहित एसईई उत्तिर्ण गरेका छन् ।
हरिहर सन्यास आश्रमद्वारा सन्चालित परमानन्द संस्कृत गुरुकुलका छात्र आशुतोष कंडेलले ३.९० जिपिए ल्याउन सफल भएको सो गुरुकुलका शिक्षक सोमनाथ अर्यालले जानकारी दिए । सो गुरुकुलबाट एसईईमा १७ जना सहभागी भएकोमा सबैले अतिविशिष्ट र विशिष्ट श्रेणीमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको अर्यालले बताए ।
यस्तै महेश सन्यास आश्रमद्वारा सन्चालित महेश संस्कृत गुरुकुलबाट १३ जना छात्रले एसईई परिक्षामा सहभागी भएकोमा ८ जनाले अति विशिष्ट (ए प्लस) र ५ जनाले विशिष्ट (ए) ग्रेड ल्याउन सफल भएको सो गुरुकुलका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
यसैगरि गलेश्वर आश्रमद्वारा सन्चालित बेद बेदाङ्ग विद्यालयका २३ जना एसइई परिक्षामा सहभागी भएकोमा १५ जना अति विशिष्ट र ८ जना विशिष्ट ग्रेडमा उत्तिर्ण भएको विद्यालयका प्रिन्सिपल नन्दराज पाण्डेले जानकारी दिए ।
गत वर्षहरुमा गुरुकुलहरुको विषय कोडको कारण नतिजा नियमित नभएकोमा यस बर्ष सबै विद्यार्थीको नतिजा नियमित भएको महेश संस्कृत गुरुकुलका प्रचार्य पौडेलले बताए ।