प्रकाशचन्द्र भट्टराई
दमौली, असार २१
घिरिङ गाउँपालिका वडा नम्बर ३ को अर्चलबोटमा जातीय विभेदको घटना सार्वजानिक भएको छ । घटना अनुसार गत जेठ २० गते उक्त वडाको मानपुर टोलका वमबहादुर थापाको घरमा बंगुर काट्ने क्रममा स्थानीय २५ बर्षिय खिमबहादुर थापाले सोही ठाउँका ३५ बर्षिय शिव परियारलाई ‘मासु नछो’ भनेर विभेद गरेपछि पीडित परियारले उक्त जातीय विभेदको विरुद्धमा कानुनी कारवाहीको प्रक्रियामा जाने चेतावनी दिएपिछ जेठ २२ गते उक्त वडाका वडा सदस्य लोकबहादुर गुरुङको रोहबरमा दुई पक्ष विच मिलापत्र भएको थियो ।
उक्त मिलापत्रमा जातीय विभेद गर्ने खिमबहादुरले पीडित शिव परियारसँग माफी माग्नु पर्ने र पीडितले पनि माफ दिने सहमती भएको थियो । साथै अव उप्रान्त अर्चलबोट भित्र हुने कुनै पनि सार्वजानिक स्थल, मेलापात तथा अन्य कुनै पनि स्थानमा कसैले पनि जातीय विभेद नगर्ने घोषणा पनि भएको र कसैले जातीय विभेद गरेमा कानुनी कारवाहीमा जाने सहमती भएको थियो ।
साथै उक्त टोल भित्र हुने कुनै पनि भोज भतेर, मासु काटमार लगायतका स्थानमा पनि कसैले पनि जातीय विभेद नगर्ने तथा टोल भित्र हुने भान्सा भतेरमा पनि विभेद नगर्ने सहमती भएको स्थानीय पत्रकार तथा घिरिङ गाउँपालिकाका प्रेस सल्लाहाकार अन्जान परियारले जानकारी दिए ।
उक्त सहमती पत्रमा साक्षीको रुपमा पीडित पक्षको तर्फबाट पत्रकार अन्जान परियार, मानबहादुर परियार र धनबहादुर परियार तथा विपक्षीको तर्फबाट नेपाली काँग्रेस घिरिङ गाउँ कार्य समितिका सभापती यामबहादुर थापा, प्रेमबहादुर थापा र जसबहादुर गुरुङ्गले हस्ताक्षर गरेका छन् । साथै ४५ जना गाउँलेहरुले सामुहिक रोहबरमा हस्ताक्षर गरेका छन् ।
तर उक्त घटना त्यतीकै सेलाउँदैन । जातीय विभेदमा दलित समुदायले माफी दिएर मिलापत्र गरेपछि स्थानीय गैर दलित समुदायले त्यसको बदलामा अर्चलबोटका दलित समुदायलाई सामुहिक बहिष्कार सुरु गरेका छन् । जातीय विभेद गर्ने गैर दलित व्यक्तिलाई आफ्नै गाउँले साथी भाई ठानेर माफी दिएका दलित समुदाय अहिले सामुहिक बहिष्कारमा परेपछि आहात भएका छन् ।
गत असार १८ गते स्थानीय एक गैर दलितले बिदेशबाट छोरा आएको खुसीयालीमा गाउँकै थानीमाईको मन्दिरमा पन्चवली लगे । तर उक्त पन्चबलीमा सो टोलमा भएका सबै १० घर दलित समुदायलाई बहिष्कार गरियो । जेठ २२ गते दुबै पक्ष विच भएको सहमतीको चौंथो नम्बरको बुँदामा गाउँमा हुने कुनै पनि भोज भतेर र काटमारमा कसैलाई पनि जातीय रुपमा विभेद नगर्ने भन्ने सहमती भएपनि उक्त पन्चबलीको भोजमा कुनै पनि दलित घरलाई नबोलाईएको पत्रकार परियारले जानकारी दिए ।
यस अघि गाउँमा हुने कुनै पनि भोज भतेर, मेलापात र अन्य काममा दलित समुदायलाई पनि निमन्त्रणा गर्ने गरेकोमा यस पटक भने घोषित रुपमै दलित समुदायलाई बहिष्कार गर्नु जातीय विभेदको चरम रुप भएको परियारले बताए ।
उक्त विभेदको विरुद्धमा कसरी कानुनी कारवाहीको प्रक्रियामा जान सकिन्छ भन्ने बारेमा छलफल र परामर्श भईरहेको पत्रकार परियारले बताए । पीडित शिव परियारले यस अघि आफुले गाउँकै साथी भाई भनेर विभेदको घटनामा माफी दिएर मिलापत्र गरेको भन्दै तर अहिले दलितहरुलाई नै गाउँमा सामुहिक बहिष्कार गर्न थालिएको बताए ।
यता विभेदको घटनामा मिलापत्र गर्न सक्रिय रहेका स्थानीय बासिन्दा तथा नेपाली काँग्रेसका गाउँ सभापती यामबहादुर थापाले कुनै व्यक्तिले आफ्नो घरमा गरेको भोज भतेर तथा कुनै धार्मिक कार्यमा कसलाई निम्ता गर्ने र कसलाई नगर्ने भन्ने उसको व्यक्तिगत अधिकार भएको बताए । १० घर दलित समुदायलाई निमन्त्रणा नगर्नु संयोग मात्र भएको भन्दै थापाले यसमा कुनै पनि विभेद नभएको दावी गरे ।