देवघाट, असार २५
देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्षकोलागि ५२ करोड ५१ हजार ४ सय रुपैयाँको अनुमानित बजेट पारित गरेको छ । गत असार १० गते बसेको गाउँ सभाको दोश्रो बैठकले ५० करोड ६६ लाख ९८ हजार ६ सय रूपैयाँको अनुमानित बजेट प्रस्ताब गरेकोमा गाउँसभाको सोमबार सम्पन्न तेश्रो बैठकले उक्त बजेट संशोधन सहित सर्वसम्मत पारित गरेको हो ।



गाउँपालिकाले आगामी आर्थिक वर्षकालागि चालू तर्ल ३३ करोड ३ लाख ९८ हजार र पुँजिगत तर्फ १८ करोड ९८ लाख ५२ हजार ८ सय बजेट बिनियोजन गरेको छ ।
गत असार ५ गते सुरु भएको १२ औं गाउँसभाले आगामी आर्थिक वर्षकालागि नीति तथा कार्यक्रम र बजेट पारित गरेर असार २५ गते सोमबार सम्पन्न भएको छ । गाउँसभामा गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले नीति तथा कार्यक्रम र उपाध्यक्ष भुवनसिंह गुरुङले उक्त बजेट प्रस्तुत गरेका थिए ।
देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ मा योजनाबद्ध शहरीकरण र गुणस्तरीय पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । देवघाटले सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प समस्त गाउँपालिका बासीको समृद्धिको चाहाना र जनप्रतिनिधिका प्रतिबद्धताहरु रहेको जनाएको छ ।
दिगो विकासको राष्ट्रिय लक्ष्यहरुको स्थानीयकरण गर्दे गुणस्तरीय पूर्वाधार निर्माण सहित स्थानीय स्रोतको पहिचान र परिचालन गरी समाबेशी, जलवायु उत्थानशील तथा दिगो स्थानीय आर्थिक बिकास मार्फत समृद्ध देवघाट गाउँपालिका र सुखी जनताको लक्ष्य हासिल गर्न सार्बजनिक, निजीक्षेत्र र समुदायको साझेदारि विकास गर्ने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।
देवघाट गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्ने, भूमिहिन अव्यवस्थित बसोवासीहरुको वैज्ञानिक व्यवस्थापन गर्ने, स्वच्छ, सफा र सुन्दर देवघाट गाउँपालिकाको पहिचान कायम राख्दै योजनावद्ध शहरीकरण तथा वस्ती विकासकोलाई गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष थापाले बताए ।
गाउँसभाले महालेखा परिक्षकको प्रतिबेदनमा औंल्याएको बेरुजु सम्बन्धी विषयहरुलाई आगामी आर्थिक वर्षमा सच्याउने विषयमा संकल्प प्रस्ताव पनि पारित गरेको थियो । त्यस्तै विभिन्न बिधेयक तथा कार्यविधि पनि गाउँसभाले सर्वसम्मत रुपमा पारित गरिएको छ ।