दमौली, असार ३१
सडक विस्तारको क्रममा चरा संरक्षण गर्न सरोकारवालाहरुले ऐक्यबद्धता जनाएका छन् । मुग्लीङ–पोखरा सडक विस्तारका क्रममा सडक सिमा भित्र रहेका चराहरुको बासस्थान रहेको रुखहरु कटान गरिएपछि चराचुरुङ्गीहरुको बासस्थानको विषयलाई लिएर चासो र चिन्ता ब्यक्त गरिएको हो ।



आईतबार बन्दिपुर गाउँपालिका–५ मा आयोजित अन्तरकृया कार्यक्रममा मुग्लीङ–पोखरा सडक आयोजनाका प्रतिनिधि, ठेकेदार कम्पनीका प्रतिनिधि, स्थानीय जन प्रतिनिधि, डिभिजन वन कार्यालय तनहुँ, भानुभक्त प्राणी उद्यान कार्यालय, सामुदायीक वन उपभोक्ता समिति, चरा विज्ञ लगाएतको सहभागितामा चरा संरक्षणमा मुग्लीङ–पोखरा सडक विस्तारले पारेको असर र आगामी दिनमा संरक्षणका लागि चाल्नु पर्ने कदमका बारेमा छलफल भएको हो ।
छलफलका क्रममा डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले, मुग्लीङ–पोखरा सडक आयोजनाका ईञ्जिनियर विष्णु प्रसाद पाण्डे, भानुभक्त प्राणी उद्यन कार्यालय छिर्कनका प्रमुख भोजराज पन्थ, चरा विज्ञहरु कृष्ण भुसाल, मित्र पाण्डे, सामुदायीक वन उपभोक्ता समितिका पदाधिकारी लगाएतले चराचुरुङ्गी संरक्षणको विषय महत्वपूर्ण विषयवस्तु भएकाले सबैले चासो दिन र सहकार्य गर्न आवश्यक रहेको कुरामा जोड दिएका थिए । मुग्लीङ–पोखरा सडक विस्तारमा कटान गर्न बाँकी रहेको रुख मध्ये सकेसम्म चराको बासस्थान रहेको रुख कटान नगर्ने पनि प्रतिबद्धता ब्यक्त गरिएको छ ।
वन्यजन्तु र वनस्पती एक आपसमा विशेष महत्व रहने हुँदा चराको संरक्षणमा ध्यान दिनु पर्ने भन्दै चराको संरक्षण हुन नसकेमा मानव सभ्यतामा समेत असर पर्ने हुँदा स्थानीय तह र सम्बन्धित वन उपभोक्ता समितिले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिईएको छ । मुग्लीङ–पोखरा सडक विस्तारको क्रममा २०७८ माघ १९ गते तनहुँको शुक्लागण्डकीमा अति संकटापन्न सानो खैरो गिद्धको बच्चा सहितको गुँड रहेको सिमलको रुख ढालिएपछि चरा संरक्षणको लागि संरक्षणकर्मीहरुले एडिबीलाई समेत गुहारेका थिए । यस क्षेत्रमा १ सय ६९ प्रजातिका चरा रहेकोमा ७ प्रजातिका चरा विश्वमा दुर्लभ मानिएको छ । लोपोन्मुख अवस्थामा रहेको सानो खैरे गिद्ध, डँगर गिद्ध, सुन गिद्ध, बगाले बगेडी, सेतो गिद्ध र गोमायु महाचिल यस क्षेत्रमा भेटिएका छन् ।
मुग्लीङ–पोखरा सडक विस्तारको क्रममा तनहुँको आँबुखैरेनी देखि कोत्रे सम्महाल सम्म करिब ६ हजार रुख कटान भैसकेको छ भने केहि रुख कटान गर्न बाँकी छ । कटान गरिएका रुख डिभिजन वन कार्यालयलाई नबुझाउँदा वर्खाको बेला काठ–दाउरा कुहिन जाने हुँदा राजश्वमा कमि आउने भएकाले तत्काल घाटगद्धी गरी वन कार्यालयलाई बुझाउनु पर्ने सरोकारवालाहरुले माग गरेका छन् भने कटान गरिएका रुखको सोधभर्ना स्वरुप वृक्षरोपण गर्नु पर्ने ब्यवस्था भएपनि साउन महिना शुरु भैसक्दा समेत वृक्षरोपण गर्ने क्षेत्रको टुँगो नलागेकाले अन्यौल कै अवस्था रहेको सरोकारवालाहरुले स्वीकार गरेका छन् ।