देवघाट, साउन १
साउनको पहिलो सोमबार देवघाटमा एकलाख भन्दा बढि भक्तजनले देवघाटमा बोलवम मेला भरेको दावी गरिएको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सुदन बरालले सोमबार एक लाख भन्दा बढि भक्तजन देवघाट आएको दावी गरे ।



विगतमा यति ठुलो संख्यामा भक्तजनले नआएको भएपछि पछिल्ला केही वर्षमा बोलवमको समयमा भक्तजनको संख्या बढ्दै गएको र सोमबार सबैभन्दा धेरै एक लाख भन्दा बढिले मेलामा सहभागि भएको गाउँपालिका अध्यक्ष थापा र क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालले दावी गरे ।
पछिल्लो समयमा मानिसहरुमा धर्म प्रति आस्था र विश्वास बढ्दै गएको कारण बोलवम मेलामा सहभागी हुनेको संख्यामा बढ्दै गएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बरालले बताए । बोलवम मेलामा सहभागी हुन नेपाल भित्रबाट मात्र नभई भारतबाट समेत भक्तजन आएको उनले बताए । कतिपय भारतीय भक्तजन अघिल्लो दिन नै देवघाट आएर बसेको उनले बताए ।
बोलवम मेलाले देवघाटको धार्मिक पर्यटनमा ठुलो टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष थापाले बताए । बोलवम मेलामा सहभागी हुन देशभरबाट मात्र नभई भारतबाट समेत भक्तजन आउने हुँदा त्यसले देवघाटको महत्वको बारेमा थप प्रचार प्रसार हुने अध्यक्ष थापाको भनाई छ । मेलालाई व्यवस्थित बनाउन देवघाट गाउँपालिका र क्षेत्र विकास समितिले समन्वय गरेको कार्यकारी निर्देशक बरालले बताए ।
औँसी तिथि र सोमबार एकै दिन परेकाले सनातन धर्मावलम्बीले सोमबारे औँसी मनाएका हुन् । यस्तो संयोग परेको दिनलाई ‘मौनी औँसी’ पनि भनिन्छ । सोमबारे औंसीमा बिहानै कसैसँग पनि नबोलिकन नुहाउने परम्परा रहेको हुँदा बिहान झिसमिसेबाटै देवघाटमा भक्तजनको उपस्थिती भएको थियो । वैदिक परम्परामा औँसीलाई पितृको पर्व मानिन्छ । यो दिन तर्पण, श्राद्ध गर्ने वा पितृका नाममा दान गर्ने विधान छ । पुराण र ज्योतीषीय ग्रन्थमा सोमबारको औँसीमा बिहान सबेरै उठेर नबोली नुहाउने भगवान् शिव वा विष्णुको आराधना गर्ने, दान गर्नेलगायत कर्म गर्नुपर्ने बताइएको छ । उक्त दिन तुलसी वा पिपलको पूजा गरी प्रदक्षिणा गर्ने परम्परा छ ।
साउने संक्रान्ति देखी सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्वपूर्ण मानिन्छ ।
साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व शुरु हुने भएकाले पनि यसको महत्व रहेको छ । यो दिन सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण–पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ ।
कालिगण्डकी र त्रिशुली नदीको संगम स्थल देवघाटमा हरेक वर्षको साउने सोमबारमा बोलबम मेला लाग्ने गर्छ । साउने सक्रान्ति, औंसी र सोमबार सबै एकैदिन परेको हुँदा वेणीसंगममा स्नान गर्न भक्तजनहरुको भिड लागेको हो । मेलामा आउने भक्तजनको सुरक्षाको लागि प्रसस्त सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो ।