पोखरा–मुग्लिन राजमार्गः दुर्लभ चराको उठिवास

Devghat Online

शेयर गरौ

पोखरा, साउन २
एशियाली विकास बैंकको ऋण सहयोगमा पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन अन्तर्गत पोखरादेखि आँबुखैरेनीसम्म (८२ किलोमिटर) खडक खण्ड चक्ल्याउने काम शुरु भईसकेको छ । त्यसका लागि राजमार्गको सडक खण्डभित्र पर्ने रुखविरुवा हटाई चक्ल्याउन थालिएको छ । अहिले बिस्तारको काम भईरहेको छ । सडक विस्तारको कामले चरा चुरुंगीको बासस्थान भने प्रभावित बनाएको छ ।

जैविक विविधतामा नेपालको एउटा मुख्य भुगोल चितवन–अन्नपुर्ण परिदृश्य अवस्थित पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक खण्ड र त्यस आसपासको क्षेत्र लोपोन्मुख तथा विश्वमै दुर्लभ गिद्ध र अन्य सिकारी चराको महत्वपूर्ण बासस्थान तथा विचरण क्षेत्रको रुपमा रहेको पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । यो क्षेत्र बसाईसराई गर्ने चराको विश्वमै परिचित मध्य एशियाली उडानमार्ग समेत रहेको उनले बताए ।

समाजले सडक विस्तारको काम अघि र सडक विस्तारको क्रममै यो क्षेत्रको चराचुरुंगीको अवस्थाको बारेमा अध्ययन गरेको थियो । २०७९ पुसदेखि २०८० जेठ महिनासम्म अध्ययन गरिएको थियो । जाडो याममा गुँड बनाउने र त्यस समयमा बसाइसरि आउने चरा र गर्मी याममा गुँड बनाउने तथा बसाइसरेर आउने चराहरुका प्रजाती, तिनको संख्या, संरक्षण अवस्था र ती चाराको मुख्य बासस्थान तथा विचरण क्षेत्रको पहिचान गर्नु अध्ययनको मुख्य लक्ष्य रहेको उनको भनाई थियो ।

मुग्लिन–पोखरा सडक स्तरोन्नति क्षेत्रमा गरिएको अध्ययनको क्रममा कुल १६९ प्रजातीका चरा ८ हजार ७ सय ६४ को संख्यामा अभिलेख गरियो । ती मध्ये आवासीय प्रजाती ११० थिए । ‘बसाईसरार्ई गरी आउने ५९ प्रजातीका थिए,’ उनले पोखरामा आयोजित कार्यक्रममा तथ्यांकसहित आफनो अध्ययन प्रतिवेदन सुनाए । जाडोयाममा गरिएको सर्वेक्षणमा १३७ प्रजातिका चराहरु अभिलेख गरिएको थियो । अभिलेख गरिएको मध्ये सात प्रजातिका चरा विश्वमै दुर्लभ प्रजातिका थिए। विश्वमै दुर्लभ प्रजातिका अति संकटापन्न अवस्थामा सानो खैरो गिद्ध, डंगर गिद्ध, सुन गिद्ध र बगाले बगेडी छन् ।
संकटापन्न अवस्थाका सेतो गिद्ध र गोमायु महाचील थिए । संवेदनशिल अवस्थाको हिउँदे आगन्तुक कैलो टाउके हाँस पनि अभिलेख गरिएको उनले सुनाए । गर्मीयाममा गरिएको सर्वेक्षणमा १२१ प्रजातिका चराहरुको अभिलेख संकलन भएको थियो । ६ प्रजातिका चराहरु विश्वमै दुर्लभ प्रजातिका थिए । राष्ट्रिय रुपमा संकटापन्न १३ प्रजातिका साथै २४ प्रजातिका क्षेत्र सीमित प्रजाति अभिलेख भएका थिए ।

नेपालमा अभिलेख भएका नौ प्रजातीका गिद्ध मध्ये सात प्रजातीका गिद्ध उक्त क्षेत्रमा पाईने तथ्यांक छ । प्रजनन् गर्ने चार प्रजातिका गिद्धका गुँडहरुको खोज तथा अनुगमन पनि गरिएको उनले बताए । तनहूँका दुई स्थानमा रहेका छाडा पशुचौपाया व्यवस्थापन र गिद्ध संरक्षण स्थल र कास्कीको घाँचोकमा रहेको ‘जटायु रेष्टुरेन्ट’ क्षेत्रमा पनि अध्ययन तथा अनुगमन गरिएको पोखरा पंक्षी समाजले जनाएको छ । अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रमा पर्ने पोखराका नौ तालहरुमा पनि चरा सर्वेक्षण गर्नुका साथै स्थानीयसँग छलफल गरिएको थियो ।

अध्ययनले तनहूँको मस्र्याङ्दी जल विद्युत परियोजनाको जलाशय क्षेत्र, डुम्रे नजिकैका सिमलका रुख र मस्र्याङ्दी नदी क्षेत्र, शिशुवा भतेरीको गौरक्षा केन्द्र, दमौली पुल क्षेत्र चराको लागि महत्वपूर्ण क्षेत्रको रुपमा पहिचान गरिएको छ । तनहूँ शुक्लागण्डकीको गाछेपानी देखि पोखरा कास्कीको बिजयपुर खोलासम्मको सडक आसपासको क्षेत्र दुर्लभ गिद्धको महत्वपूर्ण बासस्थान र विचरण क्षेत्र भएको अध्ययनको निष्कर्ष छ। सडक स्तरोन्नतिको बेला र सडक सञ्चालनका क्रममा सावधानी अपनाउनु पर्नेमा जोड पंक्षी समाजको छ । रुखहरु ढाल्नु भन्दा पहिले अनुगमन गर्नुका साथै चराको प्रजनन समय भन्दा बाहिरको समयमा काटनुपर्नेमा जोड दिइएको छ ।

हिउँद याममा जाडो छल्न वर्षेनी करीव १ सय ५० प्रजातिका चराहरु उत्तरी मुलुकहरु रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलीयाका साथै युरोप, कोरीया तथा तिब्बती क्षेत्रहरुबाट नेपालमा आउछन् । यसैगरी करिव ५० प्रजातिका वटुवा चराहरु जाडो याममा नै नेपालको बाटो हुदै दक्षिणाी मुलुक भारत, पाकिस्तान र श्रीलङ्का जाने गर्दछन् । जाडो सकिदै गर्दा दक्षिणी मुलुकहरु र अफ्रिकासम्म बाट ६२ प्रजातीका ग्रिष्मकालीन आगन्तुक चराहरु बच्चा कोरल्न नेपाल आईसकेका हुन्छन् ।

यी चराहरु असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । ग्रीष्मकालीन आगन्तुक चराहरुको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसे मैदान तथा कृषि भुमी हुन । यसरी नेपालमा हिउदँमा आउने हिउँदे आगन्तुक र बसन्त ऋतुको आगमनसगैं आउने ग्रीष्मकालीन आगन्तुक गरी पाहुना चराहरुको आउने र जाने क्रम वर्षभरी नै निरन्तर चलिरहन्छ ।

नेपालबाट हाल सम्म सात प्रजातिका चराहरु लोप भैसकेका छन् भने १७३ प्रजातिका चराहरु राष्ट्रिय रुपमा संकटापन्न अवस्थामा छन् । विश्वमै दुर्लभ मानिएका ४२ प्रजातिका चराहरु नेपालमा पाईन्छन् । नेपालमा बासस्थान विनाशले नै ८६ प्रतिशत चराहरु संकटापन्न अवस्थामा पुगेका छन् जसले नेपालको बिग्रदो वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतहरुको ह्रासलाई जनाउँछ । तर पछिल्ला दशकहरुमा खासगरी मानवीय क्रियाकलापहरुको परिणाम स्वरुप बासस्थान संकुचन तथा विनाश, वन फँडानी र अतिक्रमण, वन डढेलो, घाँसे मैदानको नास, अवैध चरा शिकार तथा व्यापार, वातावरण अमैत्री ठुला भौतिक संरचना निर्माण बदलिदो तापमान र मौसम परिवर्तन जस्ता कारणहरुले थुप्रै प्रजातिका चराहरुले संकट झेलिरहेका छन् । (नागरिकन्युज डटकमबाट)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक