दमौली, साउन ८
तनहूँको आवुँखैरेनी गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारको लागि आँबुखैरेनी गाउँपालिकामा रहेका विभिन्न सहकारी संघ संस्थाहरुले आर्थिक सहयोग गरेका छन् ।
आवुँखैरेनी गाउँपालिकाको शिक्षा कोषमा सगुन वचत तथा ऋण सहकारी संस्था लि.ले एक लाख एक हजार रुपैयाँ जम्मा गरेको छ । त्यसैगरि एकता वचत तथा ऋण सहकारी संस्था लि. ले एक लाख १६७ रुपैयाँ सहयोग गरेको छ ।



त्यस्तै मनकामना माई बहुउद्देश्य सहकारी संस्था लि. ले एक लाख ६० हजार र सुर्योदय वचत तथा ऋण सहकारी संस्था लि.ले ५० हजार सहयोग गरेको आवुँखैरेनी गाउँपालिकाले जनाएको छ ।
आर्थिक सहयोग गर्ने सम्पुर्ण सहकारी संघ संस्थालाई गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले धन्यवाद दिएका छन् । आबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि विभिन्न कार्य गर्दै आएको छ ।
सम्पुर्ण जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नु पर्ने नीति गाउँसभाबाट नै पारित गरि कार्यान्वयन गरिएको छ भने सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सवारी साधनको व्यवस्था गरिएको छ । त्यसैगरि सामुदायिक विद्यालयका विद्यार्थीलाई प्राविधिक सिप आकर्षित गर्न पढ्दै कमाउँदै र रमाउँदै कार्यक्रम पनि सन्चालन गरिएको छ ।
त्यसैगरि आवुँखैरेनी गाउँपालिकाले यस यस शैक्षिक सत्रदेखी कक्षा ६ का छात्रछात्राको दिवा खाजाको व्यवस्थापन आफैले गर्ने भएको छ । नेपाल सरकारले कक्षा ६ सम्मका विद्यार्थीहरुलाइ प्रदान गर्दै आइरहेको दिवा खाजा यहि शैक्षिक सत्र २०८० देखि कक्षा ६ लाइ कटौती गरि कक्षा ५ सम्मलाइ मात्र उपलब्ध गराउने निर्णय गरेकोमा आबुँखैरेनी गाउँपालिकाले आन्तरिक श्रोतबाट खर्च व्यहोर्ने गरि कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए ।
सहकारी संस्थाहरुले गरेको सहयोगले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुग्ने अध्यक्ष चुमानले बताए ।