देवघाटको सार्वजानिक सुनुवाई सम्पन्न, आर्थिक अपारदर्शिता र गुणस्तरीय पुर्वाधार निर्माण नभएको गुनासो

Devghat Online

शेयर गरौ

देवघाट, साउन १२

देवघाट गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष ०७९÷८० को तेश्रो चौमासिक तथा वर्षभरीमा सम्पादन गरेका वार्षिक कार्यक्रम र विकास आयोजना, सुशासन तथा सेवा प्रवाह सम्वन्धमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ०७९ चैत देखि २०८० असार मसान्तसम्म गाउँपालिकाबाट सम्पादन भएको विभिन्न विकास आयोजना तथा सेवा प्रवाहको बारेमा आम नागरिकलाई जानकारी गराईएको थियो ।

देवघाट गाँउपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विषयगत शाखा प्रमुखहरुले तेश्रो चौमासिकमा भएको काम कारवाहीको जानकारी गराएका थिए । सो अवसरमा गाउँपालिका र वडा कार्यालय मार्फत सम्पन्न भएका काम कारवाहीमा आम नागरिकले जिज्ञासा, प्रश्न र गुनासो राखेका थिए भने सम्वन्धित प्रश्नको बारेमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा शाखा प्रमुखहरुले प्रष्ट पारेका थिए ।

सो कार्यक्रममा सहभागीहरुले यस अघिको लामो खडेरीको कारण मकैमा ठुलो क्षती पुगेको भन्दै कृषकलाई राहत कहिले दिने भन्दै प्रश्न गरेका थिए । कार्यक्रमका सहभागी तथा नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले गाउँपालिकाले सवारी साधन भाडामा अपारदर्शी तरिकाले खर्च गरेको तर कृषकले सामान्य राहत पनि पाउन नसकेको बताए । उनले गाउँपालिकामा आर्थिक पारदर्शिता नभएको भन्दै महालेखा परिक्षकले औल्याएको कमजोरीको बारेमा गाउँपालिकाबासीले जान्न पाउने हक भएको बताए ।

 

न्यौपानेले गाउँपालिकाका जनप्रतिनिधिले राजनीतिक पुर्वाग्रहमा काम गरेको भन्दै राजनीतिक आस्थाकै आधारमा कयौं करारको कर्मचारीलाई हटाएर नयाँ कर्मचारी भर्ना गरेको, भुवनटारमा शिलान्यास भईसकेको झोलुङ्गे पुल पनि राजनीतिक पुर्वाग्रहकै कारण स्थगित गरिएको आरोप लगाए । संघीय सरकारबाट बजेट विनियोजन भएका योजना किन कार्यान्वयन हुन नसकेको भन्दै उनले घन्टाचुली पर्यटकीय पुर्वाधारको योजना र गाउँपालिका अस्पतालको योजना किन कार्यान्वयन हुन सकेन भन्ने प्रश्न गरे । नारयणगढको पोखराबसपार्कबाट देवघाटकोलागि छुट्ने बसेका भाडा १ सय रुपैयाँ लिने गरेको भन्दै न्यौपानेले यसको नियन्त्रण कसले गर्ने भन्ने प्रश्न गरे ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती बलबहादुर क्षेत्रीले देवघाटमा धेरै विकृती र विसंगती भएको भन्दै यसलाई कसले नियन्त्रण गर्ने हो भन्ने प्रश्न गरे । कर्मचारीहरु पनि जवाफदेही र उत्तरदायी नभएको उनको आरोप थियो । विकास निर्माणलाई गुणस्तरीय र प्रभावकारी बनाउनु पर्ने भन्दै क्षेत्रीले गाउँपालिकाले प्रयोग गरेको सवारी साधन कतिवटा छ र कुन प्रक्रियाबाट भाडामा लिईएको छ भन्ने बारेमा प्रश्न गरे । गाउँपालिकाले गिटि र बालुवाको आम्दानी कहिले सार्वजानिक गर्ने भन्ने उनले प्रश्न पनि गरे ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष जयकृष्ण सुवेदी, नेपाली काँग्रेसका उपसभापती पुरुषोत्तम शर्मा, राप्रपाका अध्यक्ष दिवाकर मिश्र लगायतले पहिलो पटक गाउँपालिकाले सार्वजानिक सुनुवाई आयोजना गरेको हुँदा अव यो सिकाईले भविष्यमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिमबहादुर रानाले वडा नम्बर ५ लाई मात्रै देवघाट नसम्झन अनुरोध गर्दै दुर्गभ भेगका वडामा गाउँपालिकाको सेवालाई विस्तार गर्नु पर्ने बताए ।

सो कार्यक्रममा स्थानीय सहभागीहरुले देवघाट जोड्ने झोलुङ्गे पुल जिर्ण भएको, हजारौं भक्तजन स्नान गर्न आउने बेणी संगममा सार्वजानिक सौचालय नभएको, शुद्ध खानेपानीको सहज व्यवस्था नभएको, लागु औषध दुव्र्यसनीको संख्या बढ्दै गएको, मापदण्ड विपरित घर टहरा निर्माण भएको, खेलकुँदका कार्यक्रम ठप्प रहेको जस्ता विषयहरु उठाएका थिए ।

ति सबै प्रश्नहरुको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सबैको सल्लाहा र परामर्शमा गाउँपालिकाको सेवालाई नागरिक मैत्री बनाउने काम भईरहेको बताए । समुन्नत देवघाट बनाउन कुनै कसर बाँकी नराखी काम भईरहेको अध्यक्ष थाापाले बताए । गाउँपालिका तथा नागरिकको सम्बन्ध र सम्बाद स्थापित गर्न र त्यस्तो सम्बन्धको माध्यमबाट गाउँपालिकाको समग्र विकास गर्न र नागरिकको प्रतक्ष्य सहभागिताको माध्यमबाट गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाई जिम्मेबारी र जवाफदेही संस्कृतिको विकास गर्न सार्वजानिक सुनुवाईको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

स्थानीय सरकार सन्चालन ऐन, २०७४ ले प्रदान गरेको अधिकारको आधारमा नै सार्वजनिक सुनुवाई गरिएको भन्दै अध्यक्ष थापाले गाउँपालिकाबाट सन्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, बस्तु र सुविधा सार्वजानिक गरि त्यस सम्बन्धमा सार्वजनिक स्थलमा सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरि जिम्मेबार संस्कृतको विकास गर्न यो कार्यक्रमको आयोजना गरिएको बताए ।

गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले सार्वजानिक सुनुवाईको क्रममा आम जनताको गुनासो सुन्ने, समाधानका विषयमा छलफल हुने हुदाँ यसको महत्व विशिष्ट रहेको बताए । सार्ववजानिक सुनुवाईको माध्यमबाट सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरि गाउँपालिकाद्वारा सम्पादन हुने कामलाई अझ नागरिक मैत्री बनाउन सहयोग पुग्ने गुरुङले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदीले स्थानीय सरकार सन्चालन ऐन, २०७४ ले प्रदान गरेको अधिकारको आधारमा नै सार्वजनिक सुनुवाई गरिएको यसले गाउँपालिकालाई अझ पारदर्शी र प्रभावकारी बनाउने बताए । गाउँपालिकाबाट सन्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, बस्तु र सुविधा सार्वजानिक गरि जनताको राय सुझावको आधारमा भविष्यको नीति तथा कार्यक्रम निर्माण गर्न पनि सहयोग पुग्ने सुवेदीले बताए ।

सो कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष तथा देवघाट गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवरले पनि सार्वजानिक सुनुवाई कार्यक्रमको महत्वको बारेमा भनाई राखेका थिए । सो कार्यक्रममा गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुखहरुले आ आफ्नो शाखाले सम्पादन गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

इप्रका आबुँखैरेनीका प्रहरी निरक्षक सुवेदी फागुन महिनाको उत्कृष्ट प्रहरी

तनहुँ । चैत ३ इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्चार्ज प्रहरी निरिक्षक टेकप्रसाद सुवेदी फागुन महिनाको

स्ववियु निर्वाचनः निर्विरोध घोषणाको माग गर्दै अनेरास्ववियुका उम्मेदवार उच्च अदालतमा

तनहुँ । चैत १ निर्वाचन समितिले त्रिविको निर्वाचन सम्बन्धि निर्देशिका उल्लंघन गरेको आरोप निर्विरोध निर्वाचित

स्ववियु निर्वाचनः भानुभक्त क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको गठबन्धन, नेविसंघ एक्लै मैदानमा

तनहुँ । फागुन २९ आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त