भरतपुर, भदौ २
उद्योग संघ चितवनले सुरु गरेको शनिबारे मेलामा उपभोक्ताको आकर्षण बढेको छ । संघले सञ्चालन गरेको चितवन प्रदर्शनी केन्द्रमा हरेक शनिबार बिहान मेला हुँदै आएको हो ।
स्थानीय उद्यमीहरुले उत्पादन गरेका उपभोग्य वस्तुको प्रोत्साहन र प्रवद्र्धन गर्न मेला गरिएको हो । मेला प्रत्येक शनिबार बिहान ६ देखि ११ बजेसम्म सञ्चालन हुँदै आएको छ । पाँचौँ शनिबारसम्म आइपुग्दा मेलामा करिब १५ हजारभन्दा बढीले अवलोकन गरेको र रु ३० लाख बढीको कारोबार भएको संघका अध्यक्ष त्रिलोचन कँडेलले बताए ।
सुरुमा ३९ व्यापारिक कक्षबाट सुरु गरिएको मेलामा अहिले ६६ कक्ष पुगेको उनले जानकारी दिए । उद्यमीको उत्पादनअनुसार कक्ष संख्या थपघट हुने र मेलामा उपभोक्ताको आकर्षण बढ्दा संख्या पनि बढ्दै गएको उनी बताउँछन् ।
संघले मेलामा आउने सामानको गुणस्तरमा कमी नआओस् भन्नका लागि स्वास्थ्यको ग्यारेन्टी गरेको उनको भनाइ छ । फर्मबाट उत्पादन भएको वस्तु भान्सासम्म जाँदा स्वस्थ्यको ग्यारेन्टी गरेको उनले बताए । जुन कुरा उत्पादकले खान्छ त्यही कुरा यहाँ विक्रिकोलागि आएको उनको भनाई छ । पहाडी क्षेत्रमा उत्पादन हुुने निगालाका टुसादेखि बेँसीको जङ्गलमा फल्ने चिउरी र निउरोसम्म यहाँ बिक्री भएको जनाउँदै उनले आर्थिक विपन्न किसानको आर्थिक अवस्था उकास्न मेलाले सहयोग पुगेको बताए ।
संघका उपाध्यक्ष मदन पोखरेलले संघले स्थानीय उत्पादनको बजारीकरणलाई दृष्टिगत गर्दै शनिबारे मेला राखेको बताए । उनले भने, “उपभोक्ताको स्वास्थ्य र उत्पादनको बजारीकरण दुवैलाई ध्यानमा राखेर मेला आयोजना गरेका हौँ ।” मेला प्रभावकारी बन्दै गएको जनाउँदै उनले थप विस्तार गर्दै लैजाने बताए ।
मेलामा महको व्यापारिक कक्ष राखेर बिक्री गर्दै आएका भरतपुरका खेमराज न्यौपानेले यस्ता मेला लाग्नु किसानका लागि ठूलो अवसर भएको बताए । उत्पादक किसानलाई यस्ता खालका मेलामा सहभागी हुन उनको आग्रह छ ।
भरतपुर महानगरपालिका–१२ बाट मेला अवलोकन गर्न आएका प्रमेश भण्डारी यहाँ मेला लाग्दा खुसी छन् । बिदाको दिनमा ‘मर्निङवाक’ गर्दै जैविक उत्पादन मेलामा किन्न पाउँदा स्वास्थ्यका दृष्टिले पनि फाइदा पुग्ने उनको भनाइ छ ।
भरतपुर–१० का रामकृष्ण ढकालले यस्ता खालका मेला लाग्नु राम्रो कुरा भएको बताए । उनले यहाँ आएर परिवारसहित तरकारी लगायतका सामान किनेको र अझ दैनिक उपभोग्य वस्तु पनि मेलामा भए थप प्रभावकारी हुने उनको सुझाव छ ।
भरतपुुर–११ का प्रकाश सुवेदीले यस्ता खालका मेला आफूले विदेशतिर देखेको र यहाँ मेला लाग्दा विदेशको झल्को आएको बताए । उनले यस्ता खालका मेलालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै आफूले मेला सुरु भएदेखि सधैँ यहाँबाट सामान किनेको जानकारी दिए ।