दमौली, भदौ ३
राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले तनहुँको दमौलीस्थित निर्माणाधीन सभाहल पहुँचयुक्त तथा अपांगतामैत्री नभएकोमा खेद प्रकट गरेका छन् । आईतबार प्रेस विज्ञप्ति प्रकाशित गरि सांसद पन्थले यस सवालमा आफ्नो गम्भीर चासो र ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल सरकारले २०६९ सालमै अपाङ्गगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका जारी गरिसकेको र सबैका लागि पहुँचयुक्त भौतिक संरचना निर्माणका सम्बन्धमा व्यापक जनचेतना भइरहेको सन्दर्भमा अझै पनि मानव निर्मित सार्वजनिक भौतिक संरचनाहरु पहुँचयुक्त मापदण्ड र भवन निर्माण आचारसंहिता अनुरुप डिजाइन र निर्माण नहुनु अत्यन्तै दुखद भएको सांसद पन्थको भनाई छ । यस सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको उनले जनाएका छन् ।
‘मलाई विश्वास थियो कि तनहुँ दमौली स्थित सरोकारवाला र अधिकारवादी साथीहरुले समयमै आवश्यक ध्यानदृष्टि दिनु भएकै होला । अपाङ्गगताको सवालमा समयमै हस्तक्षेप गर्ने र अधिकारको सवालमा खरो उत्रने अपांगता अधिकारकर्मी साथीहरु समेत आफ्नै नजर अगाडि चुक्नु भएको महसुस भएको छ ।’ राष्ट्रिय सभको दिगो विकास तथा शुसासन समितिका सभापती समेत रहेका पन्थले विज्ञप्तिमा भनेका छन् ‘यसतर्फ अपाङ्गगता अधिकारकर्मी, सरोकारवाला लगायत हामी सबैको समयमै ध्यान नपुगेकै हो ।’
तनहुँ दमौलीस्थित सभाहल सबैका लागि पहुँचयुक्त र अपाङ्गगतामैत्री बनाउन सरकारसँग जोडदार माग गर्दै पन्थले यस सवाललाई जिम्मेवारी र गम्भीरतापूर्वक लिँदै समस्या समाधान र सुधार गर्नुपर्ने जिम्मेवारी समेत महसुस गरी सरकारका सम्बन्धित निकायसँग आवश्यक निरन्तर छलफल र समन्वय भैइरहेको जनाएका छन् । साथै आवश्यक सुधार गर्नेतर्फ सम्बन्धित निकायहरुबाट सकारात्मक प्रयास र ठोस कदम अघि बढेको कुरा पनि सांसद पन्थले जानकारी गराएका छन् ।