भरतपुर, भदौ १६
साप्ताहिक सञ्जाल नेपाल चितवनको अध्यक्षमा सूर्य बराल चयन भएका छन् । भरतपुर २९ भतेरीमा सम्पन्न सञ्जालको प्रथम अधिवेशनले बरालको नेतृत्वमा ९ सदस्य नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको हो । जसको उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी, सह–सचिवमा बबिलाल तामाङ, कोषाध्यक्षमा हरि कार्की लक्की र प्रवक्तामा नबिन बाबु मरहठ्ठा सर्वसहमत चयन भएका हुन् ।
यस्तैगरी सदस्यमा रामेश्वर रिजाल, हरिप्रसाद उप्रेती ‘भुवन’ छन् भने बाँकी दुई सदस्य कार्यसमितिको पहिलो बैठकबाट चयन गरिने चयन अध्यक्ष बरालले जानकारी दिए । अधिवेशनको उद्घाटन गर्दैै प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले साप्ताहिक पत्रिका नेपाल पत्रकारिताको जननी भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताए । उनले बढ्दो सूचना प्रविधिको विकाससगैँ साप्ताहिक पत्रिकाको प्रयोगमा केहि कम देखिए पनि यसको महत्व र उपयोगिता महत्वपूर्ण रहेको स्पष्ट पारे । उनले साप्ताहिक पत्रिकाको प्रर्वद्धनमा केन्द्र, प्रदेश र स्थानिय तहले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशका अध्यक्ष हरि अधिकारीले साप्ताहिक पत्रिकाको संरक्षणमा सबै पक्ष अग्रसर हुनुपर्ने बताए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य शान्ता अधिकारीले साप्ताहिक पत्रिकाको विकास र प्रर्वद्धनमा नयाँ रणनीतिका साथ लाग्नुपर्ने धारण राखिन् ।
निर्वाचित भएसगैँ अध्यक्ष बरालले साप्ताहिकको विकासमा आफु कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाए । साथै उनले सञ्जालको शाखा देशभरि नै विस्तार गर्ने उद्धघोष गरे । साप्ताहिक सञ्जाल नेपाल–चितवनका अध्यक्ष टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।