कालिकामा समावेशी शिक्षा परियोजना प्रभावकारी

Devghat Online

शेयर गरौ

कालिका, भदौ १८

चितवनको कालिका नगरपालिकामा सञ्चालित समावेशी शिक्षा परियोजना प्रभावकारी देखिएको छ । समावेशी शिक्षा परियोजनाबारे सोमवार कालिकामा भएको संयुक्त अनुगमन तथा समिक्षा बैठकमा सरोकारवालाहरुले यस्तो बताएका हुन । समिक्षागर्नु अघि कालिका नगरक्षेत्रमा सञ्चालित समावेशी शिक्षा परियोजना बारे स्थलगत अनुगमन समेत गरिएको थियो ।

दुई समुहमा विभाजन भएको टिमले घरमा आधारित शिक्षा लिइरहेका बालबालिकाहरुको अवस्था र उनीहरुमा भएको परिवर्तन बारे जानकारी लिएका थिए । यस्तै परियोजना संचालित कालिका वडा नं. १० स्थित मझ्वाङ माध्यमिक विद्यालय र वडा नं. ३ स्थ्ति जनहित आधारभूत विद्यालयमा पुगेर परियोजनाको प्रभावकारीता बारे बुझेका थिए ।

अनुगमनमा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले घरमा आधारित शिक्षा लिइरहेका बालिबालिकाहरुसँग घरमै पुगेर समावेशी शिक्षाले उनीहरुमा आएको परिवर्तनबारे जानकारी लिएका थिए । अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासंघ नेपालले तीनवर्षे कार्यक्रम अन्तर्गत समावेशी शिक्षा परियोजना कालिका नगरपालिकामा सञ्चालन गर्दै आएको छ ।

कालिकामा यो परियोजना सुरु भएको एक वर्ष भयो । अटिजम केयर चितवन सोसाइटीका अपाङ्गता समावेशी अफिसर सुशील मगरका अनुसार कालिका नगरपालिका भित्रका ३५ वटा विद्यालयमा यो परियोजना सञ्चालित छन् । घरमा आधारित शिक्षा लिने २५ जना बालबालिकाहरु छन् । उनीहरुका लागि ४ जना घुम्ती शिक्षकहरु छन् । विद्यालय जान नसक्ने बालबालिकाहरुका लागि घुम्ती शिक्षकको व्यवस्था गरिएको हो ।

कालिका नगरपालिकाले नगरक्षेत्रभित्रका ८८ जना अपाङ्गता भएका बालबालिकाहरुलाई परिचय पत्र वितरण गरेको महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख नानीमैया पौडेलले जानकारी दिए । उनका अनुसार यो गत आर्थिक वर्षमा मात्रै २३ जना अपाङ्गता भएका बालबालिकाहरुलाई परिचय पत्र प्रदान गरिएको छ । यस्तै १३ जनालाई साहयता सामग्री नगरपालिकाले वितरण गरेको उनले जानकारी दिए ।

विद्यालय देखि घरमा आधारित शिक्षा लागूभएपछि अपाङ्गता भएका बालबालिकाहरुमा सकारात्मक सोचको विकास बढ्दै गएको पाइएको छ । नगरपालिकाको सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठले भने अनुगमनको क्रममा अभिभावकले यो परियोजनाको अवधि सकिएपछि यस्को जिम्मा कस्ले लिने ? भन्ने अभिभावकहरुमा चिन्ता भएको बताए ।

नगर प्रमुख विनोद रेग्मीले नगरक्षेत्रमा समावेशी शिक्षा परियोजना प्रभावकारी देखिएकाले यसलाई कालिकामा निरन्तरताका लागि अहिलेदेखिनै प्रयासगर्न सम्बन्धित सामाजिक संघ संस्थालाई आग्रह गरे । समय सकिनपूर्वनै कालिकामा यो परियोजनाको समय अवधि थपगर्नका लागि अहिलेदेखिनै जोड दिन नगर प्रमुख रेग्मीले आग्रह गरेका हुन् ।

कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारी, परियोजनाको साझेदारी संस्था ह्यान्डिक्याप इन्टरनेशनल का अपरेशनल म्यानेजर मदनराज जोशी, राष्ट्रिय बहिरा संघ नेपालका प्रतिनिधि लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू