दुबुङ्गमा रोटरीको निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ३२ जनाको स्वास्थ्य परिक्षण

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १०

रोटरी क्लब अफ दमौलीको आयोजनामा ऋषिङ्ग गाउँपालिका–३ दुबुङ्गमा शनिबार स्वास्थ शिविर सम्पन्न भएको छ । क्लबले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत दुबुङ्ग स्थित शान्ति आधारभुत विद्यालयको प्राङ्गणमा एक दिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ परिक्षण गरि निशुल्क औषधि पनि वितरण गरिएको क्लबका अध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त शिविरमा ३ सय ३२ जनाले उपचार सेवा तथा स्वास्थ्य परामर्श लिएको कार्यक्रम संयोजक क्लबका पूर्व अध्यक्ष हरिसिंह गुरुङले जानकारी दिए । शिविरमा ६ महिनाको शिशु देखी ९७ वर्षीय वृद्धसम्मको स्वास्थ्य परिक्षण गरिएको आयोजकले जानकारी दिएको छ ।

शिविरमा नाक, कान, घाँटी, थाईराइड विशेषज्ञबाट उपचार तथा परामर्श, स्त्री तथा प्रसुती रोग विशेषज्ञबाट महिलाहरूको स्वास्थ्य परिक्षण, आखाँ सम्बन्धि रोगको परिक्षण, सामान्य पेट, छाती तथा मुटु रोगको परिक्षण साथै निशुल्क औषधी र चस्मा वितरण गरिएको गुरुङले बताए । साथै शिविरमा निशुल्क भिडियो एक्सरेका साथै रगत तथा प्रेसर पनि परिक्षण गरिएको थियो ।

सो अवसरमा १ सय २ जनाको ऑखा जाँच, ५० जना महिलाको स्त्री रोग परिक्षण, १ सय १६ जनाको पेट, छाती तथा मुटु रोगको परिक्षण गरिएको थियो । शिविरमा ६४ जनाको भिडियो एक्सरे गरिएको थियो भने ८२ जनाको रगतमा सुगर परिक्षण गरिएको जानकारी आयोजकले जनाएको छ । सो अवसरमा करिब १० लाख बराबरको औषधी वितरण गरिएको आयोजकले जनाएको छ । शिविर सम्पन्न भएपछी बाँकी औषधी मौरीवास आधारभूत स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य परिक्षणको क्रममा अधिकांश बिरामीले आफ्नो समस्या लामो समयसम्म लुकाएर राखेको पाइएको गण्डकी मेडिकल कलेजकी स्त्री रोग विशेषज्ञ डा. स्मारिका आचार्यले जानकारी दिइन् । परिक्षण भएका मध्ये अधिकांशमा पाठेघरको संक्रमण देखिएको आचार्यले बताइन् । विशेष गरि स्त्री रोग भएका महिलाहरुले आङ खस्ने समस्या हुदाँसम्म पनि पीडा सहेर बसेको स्थानीय ५६ वर्षीया तीर्थमाया मगरको कुराबाट पनि स्पष्ट हुन्छ । उनलाई १० वर्ष पहिलादेखि नै तल्लो पेट दुख्ने समस्या सुरु भएको भएपनि उपचारको प्रक्रिया यही वैशाखबाट मात्र सुरु गरेको बताइन् ।

शिविरको उद्घाटन गर्दै ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले रोटरीसँगको सहकार्य र सद्भाव निरन्तर रहने बताए । स्वास्थ्य सेवा लिन अस्पताल जान नसक्ने अवस्थामा रहेका नागरिकलाई लक्षित गरि रोटरीले शिविर ल्याएको बताउदै उनले आभार व्यक्त गरे ।

सोही अवसरमा रोटरि क्लब रिप्ले वेष्ट भर्जिनिया अमेरिकाका पूर्व अध्यक्ष चक रे कर्नरले वास्तवमै स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई रोटरी दमौलीले निशुल्क स्वास्थ्य सेवा प्रदान गरि उत्कृष्ट काम गरेको बताए । साथै उनले शिविरका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

क्लबका अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिकाकी उपाध्यक्ष गिनुमाया थापा, वडाध्यक्ष भिम बहादुर थापा, जोन २२ का असिष्टेन्ट गभर्नर इमकुमार मल्ल, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले लगायतले बोलेका थिए । कार्यक्रम क्लबका सचिव हरि कार्कीले सञ्चालन गरेका थिए ।

शिविर सम्पन्न गर्नका लागि ऋषिङ गाउँपालिका, ऋषिङ गाउँपालिका वडा नं ३, अमेरिका स्थित रोटरि क्लब रिप्ले, ग्राफ्टन, स्पेन्सर, वेष्ट भर्जिनिया र रबिन्स्भिल्ले न्यु जर्सिको सहयोग रहेको थियो । साथै स्वास्थ्य कार्यलय तनहुँ, गण्डकी मेडिकल कलेज पोखरा, दमौली अस्पताल, रत्नहरि मेमोरियल अस्पताल–दमौली, जि.पि. कोइराला राष्ट्रिय स्वास प्रस्वास केन्द्र, शुक्लगण्डकी, न्यु पाण्डे चस्मा घर, मित्रता स्वास्थ्य क्लिनिकको र मौरीवास स्वास्थ्य चौकी, प्राविधिक सहयोगमा शिविर संचालन भएको हो । आदिकवि भानुभक्त क्याम्पस मितेरी गाउँ, लालीगुरास आमा समूह र शान्ति सेवा युवा क्लबले स्थानीय रूपमा शिविरलाई सहयोग गरेका थिए । २००० सालमा स्थापित रोटरी दमौलीले विशेषज्ञ चिकित्सको पहुँचबाट टाढा रहेका विकट गाउँबस्तीमा निरन्तर निशुल्क स्वास्थ्य सेवा उपलब्ध गर्दै आएको छ ।

दृष्टिविहीन गर्भवती महिलालाई आर्थिक सहयोग

रोटरी क्लब अफ दमौलीले एक दृष्टिविहीन गर्भवती महिलालाई आर्थिक सहयोग गरेको छ । रोटरीको निशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षणका लागि आएकी ऋषिङ–२ काहुँकी २७ वर्षीया विष्णुमाया मोपांकलाई क्लबले रु. १२ हजार एक सय आर्थिक सहयोग गरेको हो ।

केही समयअघि सुगर रोगका कारण आखाँको ज्योति गुमाएकी उनको घरको आर्थिक अवस्था नाजुक रहेको र गर्भको पनि ९ महिना चलिरहेको कारण उनलाई मानवीय भावनाले सहयोग गरेको क्लबका अध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

उनलाई सुत्केरी खर्च होस् भन्ने उद्देश्यले शिविरमा सहभागी रोटरीका पदाधिकारी तथा सदस्यहरुबाट तत्कालै रकम संकलन गरि उनलाई सहयोग गरेका हुन् । उनको ५ वर्षीया छोरी पनि बहुअपाङ्गता भएकी छन् भने अहिले उनी आफ्नी आमासँग बसोबास गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक