दमौली, मंसिर १९
राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मंगलबार विभिन्न स्थानीय तहमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ । २० औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा लामो समय स्वास्थ्य स्वयंसेविकाको रुपमा कार्य गरि हाल बिदाई भएकाहरुलाई सम्मान गरिएको हो ।
व्यास नगरपालिकाले ६० वर्ष उमेर पुरा गरेका ८ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन नगद सहित सम्मान गरको छ । व्यासले प्रोत्साहन स्वरुप ३५ हजार र सम्मानपत्र सहित पछ्यौरा ओडाएर बिदाई गरेको हो । प्रतिव्यक्तिलाई नगरपालिकाको आन्तरिक स्रोतबाट १५ हजार र स्वास्थ्य कार्यालय तनहूँबाट २० हजार गरि ३५ हजार रुपैया प्रोत्साहन रकम प्रदान गरिएको थियो । त्यसबाहेक कार्यसम्पादनको आधारमा १४ जनालाई उत्कुष्ट स्वंयसेविकाको रुपमा सम्मान गरिएको थियो ।
सो सम्मान कार्यक्रममा बोल्दै व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले महिला स्वास्थ्य स्वंयसेविकाको भूमिका महत्वपूर्ण रहेको बताईन् । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले महिला स्वास्थ्य स्वंयसेविकालाई सम्मान स्वरुप विभिन्न कार्यक्रम ल्याईने बताए । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले महिला स्वास्थ्य स्वयंसेविकाकै कारण नागरिकले घर दैलोमै आधारभुत स्वास्थ्य सेवा उपभोग गर्न पाएको बताए ।
सम्मान कार्यक्रममा अवकास प्राप्त स्वास्थ्य स्वयंसेविका सरस्वती थापाले स्वास्थ्य स्वंयसेविकाको रुपमा काम थालेको ३० वर्ष भएको र यस अवधिमा घरदैलोमै पुगेर महिला तथा बालबालिकाको स्वास्थ्यको लागी काम गरेको बताईन् । बिना पारिश्रमिक जीवनको आधा उमेर स्वास्थ्य स्वयंसेविकामा काम गर्दा आफुलाई गाँउघरमा स्थानियले डाक्टर समेत भनेर बोलाउँने उनको अनुभव थियो ।
व्यास ३ की सरस्वती न्यौपानेले पनि स्वास्थ्य स्वयंसेविकाको रुपमा ३१ वर्ष काम गरेको बताईन् । उनले पनि आफ्नो जीवनको आधा उमेर स्वास्थ्य स्वयंसेविकामा खर्चेको बताएकी थिईन् ।
बिदाई कार्यक्रममा बोल्दै स्वास्थ्य स्वंयसेविका समुहकी अध्यक्ष मायादेवी सोतीले सेवाको भावना सहित विना पारिश्रमिक धेरै महिला स्वंयसेविकाले आफनो जीवनको आधा उमेर स्वास्थ्य क्षेत्रमा बिताएको बताईन् । उनले गाउँघरमा आफुहरुलाई डाक्टर भनेर सम्बोधन गर्ने र बिना स्वार्थ स्वास्थ्य क्षेत्रमा आफनो समय दिएर काम गरेको बताइन् ।
सामुदायिक महिला स्वास्थ्य स्वंयसेविका कार्यक्रमको संयोजक समेत रहेकी उपप्रमुख दरैको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा व्यास ६ का वडा अध्यक्ष जीवन गुरुङ, व्यास २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ, वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक कल्पना कोईराला दाहाल, स्वास्थ्यकर्मी सागर तिवारी लगायतले बोलका थिए । महिला स्वास्थ्य स्वंयसेविकाहरुको सम्मानको लागि हरेक वर्ष नगरपालिकाले प्रोत्सान रकम प्रदान गदै आएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
यसैगरि २० औ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा देवघाट गाउँपालिकाले वडा नम्बर ५ का ९ जना महिला स्वयंसेविकालाई सम्मान गरेको छ ।
धर्मार्थ अस्पतालमा आयोजित सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा, गाउँपालिकाका प्रबक्ता एबम् वडा नम्बर ५ अध्यक्ष पूर्ण बहादुर कुवर, वडा नम्बर ५ सदस्य कमला गुरुङ, बुद्धि बहादुर पाण्डे, याम बहादुर थापा, सरस्वती परियार, प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, स्वास्थ्य शाखा प्रमुख प्रदिप कुमार बुढाथोकी, डा.सुरज कुमार यादव लगायतले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेका थिए । सो कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थापाले महिला स्वास्थ्य स्वयं सेविकाहरुको योगदान भुल्न नसकिने बताए ।
यसैगरि दिवसको अवसरमा घिरिङ गाउँपालिकाले पनि उमेरको कारण बिदाई महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल लगायतले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेका थिए ।
यसैगरि शुक्ला गन्डकी नगरपालिकामा पनि महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण सहित सम्मान गरिएको थियो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अबसरमा शुक्लागन्डकी नगरपालिकामा नगर स्तरिय स्वयंसेविका हाजिरी जवाफ प्रतियोगिता आयोजना गरियो ।
नगरपालिकाका ९ वटा वडाको सहभागिता रहेको सो प्रतियोगितामा वडा नम्बर ४ प्रथम, वडा नम्बर २ द्वतिय, वडा नम्बर ७ र ८ तृतीय तथा वडा नम्बर ९ सान्त्वना भएका थिए ।