दमौली, मंसिर २८
गृहमन्त्रायले गत महिना मन्त्रालयका उपसचिवहरुको सरुवाको सुचि प्रकाशन गर्यो । उक्त सरुवा सुचिमा कतिपय जिल्लाका सिडियो र सहायक सिडियो पनि थिए । सो सरुवा सुचि अनुसार तनहुँका सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत काशीराम गैह्रे कास्कीको इलाका प्रशासन कार्यलय लेखनाथमा सरुवा भए भने सोही इलाका प्रशासन कार्यालयमा कार्यरत कमलराज भण्डारी तनहुँको सहायक प्रजिअमा सरुवा भए ।
मन्त्रालयले सरुवा गरेपछि भण्डारी गत मंसिर २० गते तनहुँमा हाजिर भए । तनहुँबाट गैह्रे भने केही दिन अघि नै गईसकेका थिए । तनहुँ आएपछि भण्डारीलाई आफ्नो घरमा पुनः फर्किएर आए झैं लाग्यो । यसको मुख्य कारण के भने २०५५ सालमा निजामती सेवामा प्रवेश गरेका भण्डारीको शाखा अधिकृतको रुपमा पहिलो पदस्थापना जिल्ला प्रशासन कार्यालय तनहुँमा भएको थियो, त्यो पनि सहायक प्रमुख जिल्ला अधिकारीको पदमा ।
२५ वर्ष पछि तनहुँमा सरुवा भएर आउँदा आफ्नो घरमा फर्किएर आए झैं भएको महशुस भएको भण्डारीले बताए । उमेर हद अनुसार भण्डारी आगामी २०८१ को भदौमा निजामती सेवाबाट अवकास हुन्छन्, उनले आफ्नो अवकास तनहुँबाट नै होस् भन्ने चाहाना व्यक्त गरे । निजामती सेवाको पहिलो पदस्थापना कार्यालय र अन्तिम कार्यालय एउटै होस् भन्ने उनको चाहाना छ । तर त्यो उनले मात्रै चाहेर सम्भव छैन, सम्बन्धित मन्त्रालय र विभागले पनि चाहानुपर्छ ।
भण्डारी तनहुँमा पहिलो पटक सहायक प्रजिअ हुँदा तनहुँ ख बर्गको जिल्ला थियो, त्यसकारण शाखा अधिकृत रहेका भण्डारी सहायक प्रजिअ भए, अहिले तनहुँ क बर्गको जिल्ला भयो, जिल्ला जस्तै बढुवा भएका भण्डारी अहिले उपसचिव हुँदा तनहुँकै सहायक प्रजिअको रुपमा आउने अवसर पाए । भण्डारी २०६८ सालमा उपसचिवमा बढुवा भएका थिए ।
पहिलो पटक सहायक प्रजिअ हुँदा तनहुँमा जनार्दन नेपाल प्रजिअ थिए भने अहिले प्रजिअ कोही छैनन् । तनहुँका यस अघिका प्रजिअ छविलाल रिजालको उद्योग मन्त्रालयमा सरुवा भएपछि गृहमन्त्रालयले तनहुँमा हालसम्म कसैलाई नयाँ प्रजिअ तोकिसकेको छैन । त्यसकारण भण्डारीले अझै केही दिन निमित्त प्रजिअको जिम्मेबारी चलाउनेछन् ।
तनहुँबाट सरुवा भएपछि भण्डारी दुई बर्ष गृह मन्त्रालयमा बसे, गृहपछि अध्यागमन बिभागमा पनि करिब दुई बर्ष काम गरे । अध्यागमन पछि सिन्धुपाल्चोकको सहायक प्रजिअ भए, उनी सिन्धुपाल्चोकमा रहँदा केही समय गृहमन्त्रालयले उनलाई कामु प्रजिअको जिम्मेबारी दियो । तर केही समयपछि भने मन्त्रालयले नयाँ प्रजिअ पठाएर भण्डारीलाई पुनः सहायक प्रजिअ नै बनायो । त्यतिखेर सरकारले आफुलाई अन्याय नै गरेको उनको बुझाइ छ । अर्काे प्रजिअ पठाउने भए आफुलाई अन्यत्र जिल्लामा पठाएको भए हुने उनको गुनासो छ ।
२०६८ मा उपसचिव भएका भण्डारी तत्कालिन ललितपुरको उपमहानगरपालिकाको प्रमुख प्रसासकीय अधिकृत भएर पनि काम गरे । दुई बर्ष श्रम मन्त्रालयमा पनि काम गरेर उनले अनुभव बटुले । कामको शिलशिलामा विभिन्न जिल्लामा पुगेर सेवा गर्न पाउँदा खुशी लागेको उनको भनाइ छ । ‘कर्मचारी भएपछि सरकारले जहाँ खटाएपनि जानुपर्छ’ भण्डारीले भने ‘त्यही अनुरुप देशका धेरै ठाउँहरु पुग्ने अवसर पनि प्राप्त भयो, कामको शिलशिलामा धेरै मानिसहरू चिनियो, अनुभव पनि बटुलियो, अहिले खुशी छु ।’
श्रम मन्त्रालयमा काम गर्दागर्दै भण्डारीको सङ्घिय मामिला मन्त्रालय त्यसपछि डडेलधुराको एलडिओ र तिलोत्तमा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भयो । त्यहाँ बाट पनि केही समयपछि तारकेस्वर नगरपालिका हुँदै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भयो ।
त्यसपछि भने पुनः गृहमन्त्रालयमा गएका भण्डारीलाई गृहले मनाङको सिडिओ बनाएर पठायो । मनाङमा केही महिना बसेपछि उनी रौतहटको चन्द्रनिगाहपुर इलाका प्रसासन कार्यालयमा सरुवा भए । त्यसपछि सङ्घिय मामिला मार्फत जाजरकोटको जिल्ला समन्वय अधिकारी, फेरी पुनः गृहमन्त्रालय अन्तर्गतको इलाका प्रसासन कार्यालय लहान, त्यसपछि बझाङको प्रमुख जिल्ला अधिकारी हुँदै गोरखामा सहायक प्रमुख जिल्ला अधिकारी र इलाका प्रशासन कार्यालय लेखनाथमा उनको सरुवा भयो । लेखनाथबाट हाल उनी तनहुँ आएका छन् ।
निजामती सेवाको करिब करिब अन्तिम समयमा तनहुँमा आएका भण्डारी तनहुँबाट नै अवकास हुन पाए आफ्नो जागिरे जिवनको राम्रो संयोग बन्नेमा आशाबादी छन् ।