दमौली, मंसिर २९
आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा नेपाली काँग्रेसले यसपटक तनहुँका रेशम गुरुङलाई उम्मेदबार बनाउनु पर्ने तनहुँका गुरुङ समुदायका अगुवा तथा कांग्रेसका कार्यकर्ताहरुले माग गरेका छन् । नेपाली काँग्रेसमा लामो योगदान गरेका तर हालसम्म कुनै पनि लाभको पदमा अवसर नपाएका रेशमलाई यसपटक काँग्रेसले राष्ट्रिय सभाको सदस्य बनाएर न्याय दिनु पर्ने उनीहरुको भनाई छ ।
तनहुँका एक गुरुङ समुदायका अगुवाले काँग्रेसको हरेक कठिन परिस्थीतमा गुरुङहरुले महत्वपुर्ण सहयोग गरेपनि लाभको पदमा भने अरु नै जातीका व्यक्ति पठाउने गरिएको बताए । रेशम गुरुङ २०४६ साल अघि देखी नै नेपाली काँग्रेसमा योगदान गरेको व्यक्ति हुन् ।
जिल्ला कार्य समितिको सदस्य, कोषाध्यक्ष हुँदै हाल महाधिवेशन प्रतिनिधि रहेका गुरुङ सँधै काँग्रेसका तत्कालिन बरिष्ठ नेता तथा हालका राष्ट्रपती रामचन्द्र पौडेलको पक्षमा खुलेर काम गर्दै आएका छन् । जस्तो सुकै परिस्थितीमा पनि आफुले पौडेलको साथ नछाडेको गुरुङले बताए ।
आफ्नो ठाउँमा पार्टी संगठन निर्माणमा पनि रेशमको भुमिका महत्वपुर्ण रहेको छ । २०८० बैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनको मतपरिणाममा क्षेत्र नम्बर १ का ४१ वटा वडा मध्येमा नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा अगाडी रहेको पाँच वटा वडा मध्ये रेशमको वडा बन्दिपुर गाउँपालिका–२ पनि एक हो । उक्त निर्वाचनमा बन्दिपुर २ सहित व्यास ८ र १४ तथा देवघाटको वडा नम्बर २ र ३ मा नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा अगाडी रहेको थियो ।
रामचन्द्र पौडलले जित्ने हरेक निर्वाचनमा गुरुङको महत्वपुर्ण योगदान रहेको छ । ‘२०४६ सालदेखी हालसम्म पौडेललाई चुनाव जिताउन र यसपटक २०८० को चुनावमा अत्याधिक मतले पौडेललाई जिताउँदै राष्ट्रपती बन्ने पृष्ठभुमी तयार गर्ने अग्रमोर्चामा खटिने रेशमलाई यसपटक काँग्रेसले पाउने राष्ट्रिय सभाको सदस्यको कोटामा उम्मेदबार बनाउन स्वयं राष्ट्रपती पौडेलको कस्तो भुमिका रहन्छ ? हेर्न बाँकी नै छ ’ तनहुँका एक काँग्रेस नेताले भने ।
गन्डकी प्रदेशबाट यसपटक राष्ट्रिय सभामा तिन जनाको लागि निर्वाचन हुनेछ । सत्ता गठबन्धनमा भागबन्डा हुने भएपछि उक्त तिनवटै सिट गठबन्धनका उम्मेदबारले जित्ने निश्चित जस्तै देखिएको छ ।