दमौली, मंसिर २८
महिला शक्ति विकास केन्द्र नेपालद्वारा व्यास नपा–१४ मा सन्चालित ‘ग्रामिण महिला नेतृत्व विकास कार्यक्रम’ अन्तगर्त गठन गरिएको गाउँ महिला समुहहरु वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
विहिबार वडा नम्बर १४ मा आयोजित कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको उपस्थितीमा उक्त गाउँ महिला समुहहरु वडामा हस्तान्तरण गरिएको हो । २०७५ सालमा गठन गरिएको उक्त ९ वटा गाउँ महिला समुहहरु अव परियोजनाको समाप्ति पछि समुहलाई पुनः निरन्तरता र समुहका गतिविधिलाई पनि निरन्तरता गराउन सबै स्वामित्व वडामा हस्तान्तरण गरिएको महिला शक्ति विकास केन्द्र नेपालकी जिल्ला संयोजक लिलामाया गौलीले बताइन् ।
समुहमा आवद्ध महिलाहरुले संस्थाको अनुदान र आफ्नो स्वलगानीमा विभिन्न आर्थिक क्रियाकलापहरु गर्दै आएका छन् । परियोजनाको समाप्ति पछि पनि ति कार्यक्रमहरुलाई निरन्तरता दिन वडालाई हस्तान्तरण गरिएको गौलीले बताइन् ।
सो कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गाउँ महिला समुहमा आवद्ध महिलाहरु नेतृत्व विकास, क्षमता विकास तथा आय आर्जनमा सरिक भएको भन्दै उनीहरुको सिप र क्षमतालाई अव नगरपालिकाले उपयोग गर्न गर्ने बताए । प्रमुख न्यौपानेले अब उक्त समुहलाई नगरपालिकाले आफ्नो समुहको रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
वडा अध्यक्ष काजिमान श्रेष्ठले ग्रामिण महिलाहरुको नेतृत्व विकास, क्षमता विकास, आर्यआर्जन तथा बक्तृत्वकला क्षमता विकासमा यस परियोजनाले ठुलो योगदान दिएको बताए । वडा अध्यक्ष श्रेष्ठले महिला समुहको कार्यक्रम निरन्तरताकोलागि वडाको तर्फबाट आवश्यक सबै सहयोग गर्ने बताए ।
महिला शक्ति विकास केन्द्र तनहुँकी संयोजक लिलामाया गौलीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा सदस्य दुर्गाबहादुर आले, परियोजनाकी कोर लिडर गममाया राना, मधुमाया विक लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा नौ वटा गाउँ महिला समूह मध्ये उत्कृष्ट भएको लालीगुराँस समूह सुधेरलाई नगर प्रमुख न्योपानेले पुरस्कृत समेत गरेका थिए ।
उक्त परियोजना अन्तर्गत गाउँ महिला समुहमा आबद्ध महिला सदस्यहरुलाई नेतृत्व क्षमता बृद्धि गराउन समुह सुदृढिकरण, नेतृत्व सिप विकास सम्वन्धी आधारभुत तालिम, जेण्डर सम्वन्धी आधारभुत तालिम, लैगिंक हिंसा सम्वन्धी आधारभुत तालिम, नागरिक शिक्षा, सु–शासन तथा महिला अधिकार सम्वन्धी आधारभुत तालिम, कार्यक्रम सन्चालन सीप तथा समन्वय विस्तार सम्बन्धी तालिम, जलवायु परिर्वतन सम्वन्धी आधारभुत तालिम, उधमशिलता शिप विकास सम्वन्धी आधारभुत तालिम, वक्तृत्वकला कार्यक्रम विद्यार्थीहरुको लागि जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम सन्चालन गरिदै आएको छ ।
साथै समुहमा आवद्ध महिलाहरुको आर्थिक सशक्तिकरणका लागि समुह सदस्यहरुको समेत स्वलगानीको आधारमा संस्थाले अनुदान सहयोग रकम उपलब्ध गराएको जिल्ला संयोजक गौलीले बताइन् ।