दमौली, पुस ३
नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष व्यास नपा–४ निवासी रमेशबाबु भट्टराई र उनकी धर्मपत्नी गौरा अधिकारीले विभिन्न शिक्षण संस्थामा अक्षयकोष स्थापना र विद्यार्थीलाई सहयोग गरेका छन् ।
भट्टराई दम्पत्तीले कास्कीको रुपा गाउँपालिका–७ स्थित इन्द्रेणी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि ६० थान स्विटर टोपि प्रदान गर्दै सोही विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भट्टराईले सो सहयोग प्रदान र अक्षयकोषको रकम हस्तान्तरण गरेका थिए ।
त्यस्तै भट्टराई दम्पत्तीले दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा पनि ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । क्याम्पस सन्चालक समितिका अध्यक्ष बुद्धिकुमार श्रेष्ठ मार्फत भट्टराई सो रकम क्याम्पसलाई हस्तान्तरण गरेका थिए ।
यसैगरि भट्टराईले व्यास नपा–१० अँधेरीभन्ज्याङ स्थित जनता आधारभुत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीलाई स्विटर र टोपी उपलब्ध गराएका थिए । प्रमुख अतिथी जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख उद्धवराज जमरकट्टेल र वडाध्यक्ष खेमराज पोख्रेल मार्फत विद्यार्थीहरुलाई सो सहयोग उपलब्ध गराईएको थियो ।
विभिन्न संघ संस्थामा सहयोग गर्न पाउँदा आफुलाई निकै खुसी लाग्ने भन्दै भट्टराईले समाजसेवा नै आत्मसन्तुष्टि भएको बताए । भट्टराईले यस अघि पनि विभिन्न संघ संस्था, विद्यालय र अस्पतालहरुमा आवश्यक सहयोग गर्दै आएका छन् ।