देवघाट, पुस १६
भरतपुर महानगरपालिका–१ चितवन देवघाटधाममा रहेको सीताराम संस्कृत माविको आयोजनामा यही पुस २७ गतेदेखी हुने मकरस्नान महोत्सव २०८० को तयारी तिब्र पारिएको छ । सीताराम संस्कृत माविको सर्वाङ्गिण विकासकोलागि पुस २७ गतेदेखी माघ २ गतेसम्म त्रिशुली कालिगन्डकी वेणीसंगम देवघाटधाममा श्रीभद्भागवत अखण्डपाठारायण, कथावाचन एवं पितृउद्धारात्मक महायज्ञ तथा मकरस्नान महोत्सव हुने भएको छ ।
सो महायज्ञ एवं मकरस्नानको तयारीको क्रममा विभिन्न उपसमितिहरु गठन भई कार्य आरम्भ भईसकेको र अहिले आन्तरिक तयारी तथा पत्राचारको काम भईरहेको महायज्ञ आयोजकले जनाएको छ । महोत्सवको अन्तर्गत पुस २७ गते विहान ११ बजे कार्यक्रमको उद्घाटन हुनेछ । त्यसअघि विहान ८ बजे कलशयात्रा निकालिने कार्यक्रम रहेको छ ।
पुस २८ र २९ गते कथावाचन, दाता सम्मान तथा माघ १ गते सामुहिक ब्रतबन्ध तथा माघ २ गते दातासम्मान र समापन कार्यक्रम गरिनेछ । उक्त पाँचैदिन कथावाचन, दातासम्मान, भक्तिसंगीत, साँझमा पुजा आरतीको कार्यक्रम रहेको छ । उक्त महायज्ञमा दान दिने दाताहरुलाई रकम अनुसारको सम्मान गरिने छ । आवासीय छात्रावास समेत सञ्चालन गर्दै आएको उक्त विद्यालयकोे संस्कृत शिक्षा तथा समग्र पक्षको स्तरोन्नति गर्नका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिन लागिएको विद्यालयका प्रअ पोदराज पौडेल बताए ।
२०३५ सालमा ब्रह्मलिन बाबा डिल्लीराम ब्रह्माचारीद्वारा स्थापना गरिएको उक्त संस्कृत मावि चितवन जिल्लाको एक मात्र संस्कृत विषयमा पठनपाठन हुने सामुदायिक विद्यालय हो । उक्त विद्यालयमा हाल कक्षा ६ देखि १२ कक्षासम्म संस्कृत विषयमा पढाइ हुने गर्दछ । उक्त विद्यालयमा आवासीय छात्रावास पनि सन्चालन भईरहेको छ ।
हरिहर सन्यास आश्रमका पीठाधीश, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, गलेश्वर आश्रमका पीठाधीश महामन्डलेश्वर स्वामी आत्मनन्द गिरि एवं महेश सन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिको प्रमुख संरक्षकत्वक र विश्वविख्यात कथावाचक श्री इश्वरकृष्ण माहाराजको प्रमुख बाचकत्वमा श्रीभद्भागवत अखण्डपाठारायण, कथावाचन एवं पितृउद्धारात्मक महायज्ञ तथा मकरस्नान महोत्सव हुने विद्यालयका सहायक प्रअ एवं सचिवालय संयोजक अर्जुन पाण्डेयले बताए ।