दमौली, पुस १६
म्याग्दे गाउँपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्र (ल्यान्डफिल्ड साईट) को सोमबार शुभारम्भ गरेको छ । सो केन्द्रको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्तरुमा उद्घाटन गरे । गाउँपालिकाको बजार क्षेत्रमा संकलन हुने कुहिने र नकुहिने दुबै प्रकारका फोहोरहरु उक्त संकलन तथा व्यवस्थापन केन्द्रमा जम्मा गरिन्छ ।
स्वच्छ म्याग्दे, समृद्ध म्याग्दे गाउँपालिकाको परिकल्पना अनुसार ल्यान्डफिल्ड साईड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । गाउँपालिकाले फोहोरलाई मोहोर बनाउने नीति लिएको भन्दै अध्यक्ष थापाले जिल्लाका अन्य स्थानीय तहभन्दा उत्कृष्ट र नमुनायोग्य रुपमा ल्याइन्डफिल्ड साईड सन्चालन गरिने बताए । यो फोहोरमैला व्यवस्थापन केन्द्र गाउँपालिकाको ऐतिहाँसिक काम भएको अध्यक्ष श्रेष्ठले बताए ।
गाउँपालिकाको समग्र विकासकोलागि आफु छाती फराकिलो बनाउँदै कसैलाई पनि काखा र पाखा नगरिकन काम गर्न तयार रहेको अध्यक्ष श्रेष्ठले बताए । आफुलाई अझै पनि पाइला पाईलामा असहयोग भईरहेको भन्दै अध्यक्ष श्रेष्ठले तर पनि आफुले कुनै पनि पुर्वाग्रह नराखिकन म्याग्देको समग्र विकासकोलागि सबैसँग समन्वय गरि काम गर्न तयार रहेको बताए । समन्वय गर्ने क्रममा ल्यान्डफिल्ड साईडको उद्घाटन पनि आफुले संयुक्त रुपमा गरेको र त्यही अनुसार शिलालेख पनि तयार गरिएको अध्यक्ष श्रेष्ठले बताए । गुण र दोषको आधारमा सहयोग गर्ने बानीको सबैले विकास गर्नु पर्ने उनको भनाई थियो ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरले फोहोर संकलन केन्द्रबाट कुहिने र नकुहिने फोहोर छुट्याईने र कुहिने फोहोरबाट मल उत्पादन गरिने र नकुहिने फोहोरबाट अन्य उत्पादन गरि मोहोर बनाईने बताए । यो फोहोर संकलन केन्द्र गाउँपालिकाको गौरबको योजना रहेको भन्दै यसकामको लागि सहयोग गर्ने सबै जग्गादाता तथा गाउँपालिकाबासीलाई उपाध्यक्ष घिमिरेले धन्यवाद दिए ।
निवर्तमान गाउँपालिका अध्यक्ष मायादेवी रानाले गत कार्यकालमा ल्यान्डफिल्ड साइट निर्माणकोलागि धेरै दुख गरिएको भन्दै मुख्यकुरा जग्गा प्राप्तीको काम भएको र उक्त कामलाई पनि सबैको सहयोगमा सम्पन्न गरिएको बताइन् ।
उक्त ल्याइन्डफिल्ड साईट स्थापनाकोलागि स्थानीय ९ जना जग्गाधनीबाट न्यनुतम मुल्यमा जग्गा प्राप्ती गरेर उक्त ल्यान्डफिल्ड साईड स्थापना गरिएको प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले बताए । उक्त संकलन केन्द्र करिब २२ रोपनी ८ आना जग्गामा स्थापना गरिएको हो । ल्यान्डफिल्ड साईड निर्माणकोलागि डिपिआर र गुरुयोजना अनुसार २१ करोड ६ लाखको लागत अनुमान गरिएकोमा हाल पहुँच सडक निर्माण, नाली निर्माण रिटेनिङ्ग वाल, कम्पाउन्ड सहितको भवन निर्माण सहित हालसम्म २ करोड १५ लाखको लागतमा निर्माणको भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
फोहोर संकलन गर्नकोलागि टिप्पर खरिद गरिसकिएको भन्दै अधिकारीले करिब पाँच हजार घरबाट फोहोर मैला संकलन गरिने उद्देश्य रहेको बताए । ल्यान्डफिल्ड साईड सन्चालनकोलागि एउटा सन्चालक समिति पनि बनाईएको छ र साप्ताहिक रुपमा प्रत्येक वडाबाट फोहोर संकलन गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । गाउँपालिकाले फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धि ऐन निर्माण गरिसकेको भन्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले अव प्रत्येक वडाबाट प्रत्येक दिन फोहोर संकलन गरि ल्यान्डफिल्ड साईटमा ल्याइने बताए ।
सो अवसरमा ल्यान्डफिल्ड साइट निर्माणकोलागि जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा जनप्रतिनिधिहरुलाई फोहोर संकलन कार्ड वितरण गरिएको थियो ।