भरतपुर, पुस २३
गत मंसिर ६ गते चितवनको मिलनचोकमा बोरामा बाँधेर फालिएको अवस्थामा भेटिएको दुई व्यक्तिको हत्या भएको खुलेको छ । हाडनातामै विवाहेत्तर सम्बन्ध भएको कारण उनीहरुको हत्या गरिएको चितवन प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार उनीहरुबीच काकी–छोराको नाता रहेको खुलेको छ । हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको करिब डेढ महिनापछि प्रहरीले उनीहरुको सम्बन्ध तथा मृत्युको कारण पहिचान गरेको छ ।
भारतको मोतिहारी जिल्लाको फूलबारियाको सुगौली भन्ने स्थानको छोरा नाताका १९ वर्षीय ऋषभकुमार कुसवाहा र भारतको बिहार जिल्लाकी अस्मिता भन्ने ३० वर्षकी काकी पर्ने सञ्जुदेवीको विवाहेत्तर सम्बन्धका कारण सञ्जुका श्रीमान अखिलेष भगतले उनीहरुको हत्या गरेको प्रहरीले बताएको छ ।
सञ्जु र ऋषभकुमारको विवाहेत्तर सम्बन्धका कारण सञ्जुका श्रीमान अखिलेषले हत्या गरेको स्वीकार गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीका अनुसार अखिलेषले मंसिर २ गते मृतक ऋषभकुमारका काका नाता पर्ने व्यक्ति बसेको भरतपुरस्थित कोठामा दुवैको हत्या गरेका थिए ।
हत्यापछि मंसिर ३ गते राति पौने १२ बजे र १ बजेर १२ मिनेट जाँदा बोरामा हाली कल्भटमुनि फालेको सीसी क्यामराको फुटेजमा देखिएको थियो । सोही आधारमा अनुसन्धान गर्दै जाँदा भारतसम्म पुगेको प्रहरीले घटनाको तथ्य पत्ता लगाएको हो ।
भारतीय प्रहरी हिरासतमा छन् अखिलेष
प्रहरीका अनुसार अखिलेष श्रीमती र अर्का पुरुषको हत्याको घटना सार्वजनिक हुनुअगावै भारतीय प्रहरीको नियन्त्रणमा पुगिसकेका छन् । उनी व्यक्ति अपहरण तथा बेपत्तासम्बन्धी उजुरीका आधारमा भारतीय प्रहरीले पक्राउ गरेको हो ।
अखिलेषलाई पक्राउ गरी पुस १६ गते भारतको केन्द्रीय कारागार गृह मोतीहारीमा राखिएको छ ।
उनले भतिजा कुशवाह र श्रीमती सञ्जुको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
उनी भारतकै प्रहरी नियन्त्रणमा रहेकाले नेपाल ल्याउन नमिलेको प्रहरीको भनाइ छ । हत्यामा संलग्न व्यक्तिसँग बयान लिन नेपाल प्रहरीको एक टोली भारतको बिहार नै पुगेको थियो ।
यो घटना विवाहेत्तर सम्बन्धसँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ । विवाहेत्तर सम्वन्ध थाहा पाएपछि महिलाका श्रीमानले भरतपुर बसपार्क नजिकै दुवै जनाको हत्या गराएको प्रहरीको भनाइ छ ।