दमौली, माघ १७
तनहुँको म्याग्दे गाउँपालिकाले दोश्रो आवधिक विकास योजना निर्माण गर्ने भएको छ । गाउँपालिकाले दोस्रो पञ्च वर्षिय आवधिक विकास योजना (२०८१÷०८२ देखि २०८५÷०८६) निर्माणको लागि ७ वटै वडाहरुमा कार्यशाला गोष्ठि आयोजना गरि सुझाव संकलन गर्ने भएको छ ।
उक्त गोष्ठीमा उपस्थित भई दिर्घकालिन रुपमा वडा स्तरीय विकास निर्माण, सेवा प्रवाह लगायतका विषयमा राय सुझाव पेश गर्नुृहुन साथै समग्र आवधिक योजना निर्माण सम्वन्धमा फागुन ३० गते भित्र यस गाउँपालिकाको कार्यालयमा आईपुग्ने गरी सुझाव दिन गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँबासीलाई अनुरोध गरेका छन् ।
गाउँपालिकाको सोच, लक्ष्य, उद्देश्य, रणनीति तथा प्राथमिकता निर्धारण, कार्यनीति, परिमाणत्मक लक्ष्य निर्धारण, सम्भाव्य स्रोतको अनुमान प्रक्षेपण र क्षेत्रगत वाँडफाँड, मानव संशाधनको आवश्यकता पहिचान र प्रक्षेपण, विषय क्षेत्रगत योजना तर्जुृमा प्रत्येकमा लक्ष्य÷उद्देश्य÷रणनीति तथा कार्यनीति, कार्यक्रम तथा आयोजना, अपेक्षित नतिजा तालिका, अनुगमन तथा जोखिम पक्ष, आवधिक योजनामा समावेश गर्नुपर्ने विषय क्षेत्र, भू उपयोग क्षेत्र, वातावरण संरक्षण क्षेत्र, स्थानीय यातायात क्षेत्र, स्थानीय सार्वजनिक पूर्वाधार क्षेत्र, एकिकृत वस्ती विकास, जग्गा एकिकरण तथा आवास क्षेत्र, स्थानीय आर्थिक विकास क्षेत्र, संस्थागत विकास क्षेत्र, विपद् जोखिम न्यूनिकरण तथा उत्थानशिल क्षेत्र, पुनरुत्थान तथा पुननिर्माण क्षेत्रमा सुझाव पेश गर्न अध्यक्ष श्रेष्ठले गाउँबासीलाई अनुरोध गरेका छन् ।
वडा स्तरमा हुने कार्यशाला गोष्ठी वडा नम्बर ४ मा माघ २४ गते, वडा नम्बर ५ मा माघ २५ गते , वडा नम्बर ६ मा माघ २६ गते, वडा नम्बर १ मा माघ २७ गते, वडा नम्बर २ मा माघ २८ गते, वडा नम्बर ३ मा माघ २९ गते र वडा नम्बर ७ मा फागुन १ गते हुनेछ । उक्त सबै कार्यक्रम सम्बन्धित वडा कार्यालयहरुमा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।