सांसद वाग्लेको समेत ध्यानाकर्षण
देवघाट, माघ २३
तनहुँको देवघाट गाउँपालिका–५ को भुवनटार र चितवनको भरतपुर महानगरपालिका–२६ को भतेरी जोड्ने त्रिशुली नदीमा झोलुङ्गे पुलको शिलान्यास भएपनि लामो समयसम्म उक्त योजना कार्यान्वयनमा आएको छैन । भौतिक पुर्वाधार मन्त्रालयको सस्पेसन्स डिभिजन कार्यालय पुल्चोक ललितपुरबाट सर्भे, डिजाइन, लागत अनुमान लगाएत सबै कार्य सम्पन्न गरी टेन्डर आह्वान गरि निर्माण व्यवसायीसँग सम्झौता समेत भईसकेको उक्त झोलुङ्गे पुलको निर्माण अझैसम्म सुरु भएको छैन ।
२०७८ चैत १५ गते देवघाट गाउँपालिकाका तत्कालिन अध्यक्ष दुर्गबहादुर थापा र भरतपुर महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष मन बहादुर मगरले संयुक्त रूपमा उक्त पुलको शिलान्यास समेत गरेका थिए । तर निर्माण कार्य सुरु गर्ने बेला भने योजना नै रद्ध भएको छ । जग्गा सम्बन्धि कारण देखाउँदै विभागले पुलको निर्माण योजना रद्ध गरेको बताईएको छ ।
उक्त झोलुङ्गे पुल तनहँु क्षेत्र नम्बर १ का तत्कालिन सांसद कृष्णकुमार श्रेष्ठ किसानको विशेष पहलमा योजना छनौटमा परेको थियो । देवघाट जानेक्रममा भुवनटारबासीले सांसद श्रेष्ठलाई उक्त स्थानमा झोलुङ्गे पुल निर्माणको लागि मागपत्र पेश गरेका थिए । सोही अनुसार विभागका अधिकारीहरुले पुलको योजना समावेश गरि निर्माण सम्झौता समेत गरिएको थियो ।
योजना रद्ध भएको उक्त पुलको निर्माण कार्य तत्काल सुचारु गर्न भुवनटार–भतेरी पुल निर्माण सहजीकरण उपभोक्ता समितिले माग गरेपनि सुनुवाई भएको छैन । उपभोक्ता समितिले तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद डा. स्वर्णिम वाग्ले र देवघाट गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएपनि पुलको योजना कार्यान्वयन भएको छैन ।
शिलान्यास भई निर्माण कार्य सुरु हुने बेलामा अचानक उक्त पुलको योजना रद्ध भएको भन्ने जानकारी पाएपछि आफुहरु निराश भएको भुवनटार–भतेरी पुल निर्माण सहजीकरण उपभोक्ता समितिकी अध्यक्ष सिता आलेले बताईन् । उपभोक्ता समितिको उक्त पुलको निर्माण कार्य तत्काल सुरु गर्न गाउँपालिका मार्फत सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाए पनि सुनुवाई नभएको अध्यक्ष आलेले बताईन् ।
उक्त पुलको निर्माण कार्यमा ढिलाई भएपछि निर्माण व्यवसायीसँग जानकारी लिँदा पुलको योजना नै रद्ध भएको जानकारी पाएको उनले बताईन् । पुलका निर्माण व्यवसायी लोकबहादुर बस्नेतले विभागबाट योजना रद्ध भएको जानकारी पाएपछि निर्माण कार्य सुरु नगरिएको बताए । उक्त स्थानमा तत्काल पुल निर्माण कार्य छिटो भन्दा छिटो सन्चालन गर्न देवघाट गाउँपालिका मार्फत माग गरिएको अध्यक्ष आलेले बताईन् । झोलुङ्गे पुलको अभावमा भुवनटारबासी राजमार्गमा निस्कन करिब एक घन्टा हिड्नु पर्ने बाध्यता छ ।
नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले स्थानीय बासिन्दालाई अति आवश्यक भएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारको पालामा सबैले पहल गरेर उक्त पुलको योजना पारेको भन्दै उक्त पुल जसरी पनि उक्त स्थानमा नै निर्माण हुनु पर्ने बताए । स्पेसन विभागका अनुसार पुलको शिलान्यास भएको स्थानमा तनहुँ तर्फ व्यक्तिको जग्गा परेको र भरतपुर महानगर तर्फ रिर्साेट निर्माण भईरहेकोले दुबै तर्फको अवरोधको कारण पुलको योजना रद्ध भएको बताईएको छ । तर न्यौपानेले उक्त स्थान भन्दा केही तलमाथी सारेर भएपनि पुल निर्माण गर्नु पर्ने बताए ।