दमौली, माघ २३
सशस्त्र द्वन्द्वको क्रममा छाङको साउनेपानीमा हत्याकान्ड भएको मंगलबार २२ वर्ष पुरा भएको छ । सशस्त्र द्वन्द्वकालमा साविक छाङ गाविसको साउनेपानीमा २०५८ माघ २३ गते ८ जना माओवादी कार्यकर्ताहरुको सुरक्षाकर्मीले हत्या गरेका थिए । सोही घटनालाई साउनेपानी हत्याकान्डको रुपमा चिनिन्छ ।
२०५८ माघ २३ गते बिहान बैठक बस्ने क्रममा माओवादीका ८ जना कार्यकर्तालाई सुरक्षाकर्मीले घेराहाली नियन्त्रणमा लिईसकेपछि सामुहिक हत्या गरेका थिए । उक्त घटनामा रिस्तीका भरतचन्द्र अधिकारी र कलावती अधिकारी, खैरेनीटारका गिता विक र सन्तोषी बराल, पुर्काेटकी कलावती पौडेल, मिर्लुङका गणेश परियार, श्याम्घाका वनबहादुर कुमाल र गोरखाका श्रीराम पौडेलको मृत्यु भएको थियो । मृत्यु हुने मध्ये रिस्तीका अधिकारीद्वय श्रीमान÷श्रीमती हुन् । उक्त घटना सशस्त्र द्वन्द्वकालमा तनहूँ जिल्ला भित्र भएको सबैभन्दा ठुलो घटनाको मानिन्छ ।
सो साउनेपानी हत्याकान्डका पीडित परिवारले राहतसँगै न्याय पनि दिन माग गरेका छन् । पीडित परिवारले सरकारबाट राहत पाएपनि अझैसम्म न्याय नपाएको गुनासो गरेका छन् । द्वन्द्व पीडितहरुलाई न्याय दिनकोलागि सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्नु पर्ने र उक्त आयोग मार्फत पीडित परिवारलाई न्याय र दोषीलाई कारवाही गर्नुपर्ने पीडित परिवारको माग रहेको छ ।
सो घटनामा मारिएका व्यास नपा–६ श्याम्घाका वनबहादुर कुमालकी पत्नि कमला कुमालले द्वन्द्व पीडित परिवारको पिडा राज्यले सम्बोधन गर्न नसकेको बताइन् । उनले द्वन्द्वका घटनाहरुको यथार्थ छानविन गरि दोषीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरिन् । सत्य निरुपण आयोग गठन सम्बन्धि संक्रमणकालिन न्याय सम्बन्धि विधेयकमा दलहरुको आफ्नै स्वार्थको कारण पीडितहरुले न्याय पाउनेमा आशा मर्दै गएको उनको भनाई छ ।
यसै सन्दर्भमा नेकपा माओवादी केन्द्र व्यास नगर समिति र वाईसिएल व्यास नगर कमिटिले मंगलबार दमौलीको अनसन चौतारी र दमौली अस्पताल बिचको चौरमा सरसफाई गरि डस्टबिन राखि राखेको छ । यसै सन्दर्भमा आज व्यास नपा ६ शिशाघाट र ब्यास नपा ८ रिस्ति सोतिबेसीमा स्थानीय पार्टी समितिले शहिद स्मृति दिवसको कार्यक्रम आयोजना गरिएको नेकपा माओवादी केन्द्रका व्यास नगर अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिए ।