दमौली, फागुन १७
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मादी नदीमाथि ‘आर्क डिजाइन’ को पुल निर्माण तिब्र गतिमा भईरहेको छ । मुग्लिन–पोखरा सडक खण्डको व्यास नगरपालिका–४ र ५ को चापाघाट जोड्ने मादी नदीमाथि उक्त पुल निर्माण थालिएको हो ।
पुलको हालसम्म १२ प्रतिशत भौतिक प्रगति भएको मुग्लिन–पोखरा सडक विस्तार आयोजना पुर्वी खन्डले जनाएको छ । आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले हालसम्म १२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । निर्माण कम्पनीले पुलको व्यास नपा ५ को सडक डिभिजन कार्यालयको पछाडी तर्फको भागमा काम सुरु गरेको छ । पुल निर्माण सुरु भएसँगै हालको सडक डिभिजन कार्यालय विस्थापित हुने भएको छ ।
पुल निर्माणका लागि तल जगको भाग पूरा भएपछि त्यस भन्दा माथि क्याप राखेर निर्माण प्रक्रिया अघि बढाइएको पाण्डेले बताए । उक्त पुलको छ वटा स्पान हुने आयोजना कार्यालयले जनाएको छ । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको ठेक्का जेडआईष्ट अन्नक जेभीले पाएका छन् । पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ ।
हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुल भन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।