दमौली, फागुन १८
दुई खन्डमा बाँडेर गरिएको मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँमा हालसम्म पुर्वी खन्डमा ५०.८९ प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण सम्पन्न गर्नु पर्ने समयअवधि नजिकिईसक्दा पछिल्लो समयमा आएर उक्त खण्डमा उत्साहजनक रुपमा काम भईरहेको छ ।
पुर्वी खन्डको समय अवधि २०८१ बैशाखसम्म रहेको छ भने पश्चिम खन्डको अवधि २०८१ भदौ मसान्तसम्म रहेको छ । पश्चिम खन्डको तुलनामा पुर्वी खन्डमा भने छिटो छिटो काम भईरहेको छ । पुर्वी खन्डमा हालसम्म दुबै तर्फ गरि २० किलोमिटर कालोपत्र भईसकेको छ ।
उक्त खण्डमा १२ किलोमिटर चार लेनमै र ८ किलोमिटर सिङ्गल लेनमा कालोपत्र भईसकेको मुग्लिन पोखरा सडक विस्तार आयोजना पुर्वी खन्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेले जानकारी दिए । उक्त खन्डमा तिब्रगतिमा कालोपत्र भईरहेको छ । आगामी बैशाख मसान्तसम्म दमौली बजारसम्म कालोपत्र गरिसक्ने लक्ष्य लिईएको पाण्डेले बताए । पश्चिम खन्डमा पनि कालोपत्र सुरु भएको इन्जिनियर नारयण पौडेलले बताए । उक्त खन्डको जामुने, बेलचौतारा र कोत्रे खण्डमा गरि हालसम्म ६ किलोमिटर कालोपत्र भएको पौडेलले बताए ।
निर्माण समयअवधि भित्रै दमौली सम्मको खण्डमा एकातर्फी कालोपत्र गरिसक्ने पुर्वी खन्डको लक्ष्य रहेको भएपनि दमौलीको बुल्दी खोलाको पुलदेखी मादीको पुलसम्मको खन्डमा सडक सिमामा रहेका भौतिक संरचना हटाउनमा भएको ढिलाइले बैशाख सम्म दमौलीमा कालोपत्र गरिसक्ने योजनामा भने धक्का लाग्ने भएको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको स्थानीय बताउँछन् ।
पूर्वी खण्ड अन्तर्गत दमौलीको मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम पनि सुरु भईसकेको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि एक अर्व २१ करोड लागतमा आर्क डिजाइनमा पुल निर्माण सुरु भएको इञ्जिनियर पाण्डेले जानकारी दिए । हालसम्म पुलको १२ प्रतिशत भौतिक प्रगति भएको छ ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । पूर्वी खण्डको कामका लागि वि.सं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४२ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको म्याद वि.सं २०८१ वैशाखसम्म रहेको छ ।
पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म वि.सं २०७८ जेठ २ गते सम्झौता भई वि.सं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।
चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४६ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४६ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म पनि सडकको चौडाइ ४६ मिटरको हुनेछ ।