दमौलीमा महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवद्र्धन मेला हुने

Devghat Online

शेयर गरौ

दमौली, फागुन १९

११४ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा तनहुँमै पहिलो पटक ३ दिने महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवद्र्धन मेला हुने भएको छ । यहि फागुन २५, २६ र २७ गते व्यास नपा–३ स्थित अनसन चौतारी खुल्ला चौरमा मेलाको आयोजना गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा महिला उद्यमी संघ नेपाल, तनहुँकी सभापति निर्मला मल्लले जानकारी दिइन् ।

उक्त मेलामा महिलाहरुद्वारा उत्पादित हस्तकला, घरेलु होजियारी लगायत खानाका अर्गानिक उत्पादनलाई बजारीकरण गरिने सभापति मल्लले बताइन् । महिलाहरु परापूर्वकाल देखि नै उद्यमशिलतामा जोडिएपनि व्यवस्थित बजारीकरणको अभाव भएको भन्दै यस महिला उद्यमी मेला मार्फत महिलाहरुद्धारा उत्पादित बस्तुलाई ब्राण्डिङ गर्दै आगामी दिनमा बजारीकरण गरिने मल्लको भनाई थियो ।

सो पत्रकार सम्मेलनमा व्यास नगरपालिका उपप्रमुख इन्दिरा दरैले मेलालाई व्यास नगरपालिकाले प्रवद्र्धन गर्न गर्ने र मेलाले आगामी दिनमा तनहुँमा रहेका उद्यमी महिलाहरुको पहिचान हुने र सोही अनुसार महिला लक्षित कार्यक्रम गर्नलाई मद्धत पुग्ने बताईन् ।

तीन दिनसम्म चल्ने मेलामा घरेलु उत्पादनलाई विशेष प्राथमिकता दिदै बजारीकरणमा जोड दिइने बताइएको छ । मेलामा घरेलु उत्पादनका सामाग्री लगायत खानाको प्रदर्शनी तथा विविध साँस्कृतिक कार्यक्रम समेत गरिने संघकी महासचिव सरु श्रेष्ठले बताईन् ।

मेलामा चर्चित गायिकाद्वय प्रिती आले र कला लम्सालको विशेष प्रस्तुतिको साथमा स्थानिय कलाकारले समेत गीत तथा नृत्य प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू