आलु प्रबद्र्धन कार्यक्रम मार्फत ७ सय मेट्रिक टन आलु उत्पादन
दमौली, फागुन ३०
तनहुँमा चिस्यान केन्द्र (कोल्ड स्टोर) नहुँदा कृषकहरु समस्यामा पर्दै आएका छन् । अहिले आलु खन्ने सिजन भएको हुँदा कोल्ड स्टोरको अभावमा कृषकहरु खेतबारीबाट नै आलु विक्री गर्न बाध्य भएका छन् । कोल्ड स्टोरमा राख्न पाएको भए आलुले उचित मुल्य पाउने र कुहिने समस्या नहुने कृषकहरुले बताएका छन् ।
व्यास नपा–९ स्थित सुनौलो नयाँ गोरेटे कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु अधिकारीले कोल्ड स्टोर नहुँदा आलु खेतबारीबाट नै विक्री गर्न बाध्य भएको बताए । उनले कोल्ड स्टोर भएको भए ढुक्कसँग विक्री गर्न पाइने र उचित मुल्य पनि पाईने बताए ।
५० केजी सम्म खरिद गर्नेलाई प्रति केजि ३० रुपैयाँ र त्यसभन्दा माथि खरिद गर्दा प्रतिकेजी २६ रुपैयाँमा आलु विक्री गरिएको अधिकारीले बताए । जिल्लामा कोल्ड स्टोर नहुँदा केही कृषकहरुले आफ्नो पायक अनु्सार पोखरा, चितवनको नारयणगढ र पाल्पाको रामपुरमा लगेर कृषि उपज राख्ने गरेका छन् ।
तनहुँमा कुनै पनि स्थानीय तहमा कोल्ड स्टोर सन्चालन नभएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपाल शर्मा लामिछानेले बताए । ‘केही पालिकामा कोल्ड स्टोर निर्माणाधिन छ, केहीमा बन्ने सुर छैन’ लामिछानेले भने ‘कोल्ड स्टोर नहुँदा तनहुँका कृषकहरु मारमा परेका छन् ।’ जिल्लामा कोल्ड स्टोर नहुँदा बाहिरी जिल्लामा लगेर राख्नु पर्दा कृषकहरुलाई ढुवानी खर्च र स्टोर भाडा बढि लाग्ने लामिछानेले बताए । जिल्ला बाहिरको कोल्ड स्टोरमा कृषि उपज राख्दा कृषि निर्देशनालय गन्डकी प्रदेशले प्रति केजी ५० पैसा छुट अनुदान दिने गरेको लामिछानेले बताए ।
तनहुँका व्यास नपा, भानु शुक्लागन्डकी नपा, भिमाद नपा र घिरिङ गाउँपालिकामा कृषि ज्ञान केन्द्र मार्फत ५० हेक्टर जग्गामा प्रशोधनयोग्य आलु प्रबद्र्धन कार्यक्रम सन्चालन गरिएको छ । ५ कृषि सहकारी र ७ कृषक समुह गरि १२ वटा समुहमा उक्त कार्यक्रम सन्चालन भएको लामिछानेले जानकारी गराए । उक्त कार्यक्रम अन्तर्गत यस वर्ष करिब ७ सय मेट्रिक टन आलु उत्पादन भएको छ । त्यस बाहेक पनि कृषक, कृषक समुह र सहकारीहरु मार्फत सयौं मेट्रिक टन आलु उत्पादन हुने लामिछानेले बताए । ति सबै आलुको मुल्य निर्धारण गरि सम्झौता गर्ने कम्पनीले नै लगिसकेको उनले बताए ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले संघीय सरकारको सहयोगमा म्याग्दे गाउँपालिकाको वडा नम्बर ३ मा कोल्ड स्टोर निर्माणाधिन अवस्थामा रहेको भन्दै आगामी आर्थिक वर्षबाट कोल्ड स्टोर सन्चालन गर्न सकिने बताए । अहिले कृषकहरुले आफ्ना उत्पादन पोखरामा लगेर राख्नु पर्ने बाध्यता रहेको बताए । पोखरामा लैजाँदा लाग्ने सवारी ढुवानी भाडा भने गाउँपालिकाले नै ब्यहोर्ने अध्यक्ष श्रेष्ठले बताए ।
तनहुँमा आलु बाहेक सुन्तला र अदुवा पनि उल्लेख्य मात्रामा उत्पादन हुन्छ । तर कोल्ड स्टोरको अभावमा कृषकहरुले सस्तो मुल्यमा ति उत्पादनहरु विक्री गर्न बाध्य हुँदै आएका छन् ।
लोकवाणी दैनिकबाट