दमौली, चैत ७
दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपभोक्ता सदस्यको अधिकार कटौती गरेको छ । समितिको यही चैत ९ र १० हुने अधिवेशकोलागि उपभोक्ता प्रतिनिधिको अधिकार कटौती गरि १० सदस्य बराबर १ जना प्रतिनिधि हुने व्यवस्था गरिएको छ । करिब २७ सय उपभोक्ता रहेको दमौली खानेपानी तथा लोकतन्त्रको आधारभुत मान्यता विपरित उपभोक्ता समितिले १० जना सदस्य बराबर १ जना प्रतिनिधि चयन गरेको छ । गत वर्ष विधान संशोधन गरेर समितिले अधिवेशनकोलागि गरेको यो व्यवस्था उचित नभएको उपभोक्ताहरुको भनाई छ । प्रतिनिधि चयनमा सिन्डिकेट लाद्ने उद्देश्य अनुसार सबै उपभोक्तालाई प्रतिनिधि बन्नबाट बन्चित गरिएको हो ।
नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा १० सदस्य बराबर १ जनाको मताधिकारको व्यवस्था हुनु लोकतान्त्रिक प्रक्रिया विपरित हुने उपभोक्ताहरुको भनाई छ । उपभोक्ता पोष्टमान श्रेष्ठले सबै उपभोक्तालाई मताधिकारबाट बन्चित गरेर गरिने निर्वाचनबाट आशलाग्दो र सक्षम नेतृत्व नआउने बताए । यो कार्यले उपभोक्ता समितिमा राजनीतिक हस्तक्षेप र नेताहरुको आर्शिवाद बढि हावी हुने उनले बताए ।
२७ सय उपभोक्ताको पनि व्यवस्थापन गर्न नसक्ने समितिले ति उपभोक्तालाई खानेपानीको सहज व्यवस्थापन तथा वितरण भने कसरी गर्न सक्छ भन्ने प्रश्न पनि उठ्न थालेको छ । १० बराबर १ प्रतिनिधिमा अधिकांश राजनीतिक भागबन्डा गरिएको छ । प्रत्येक टोल विकास संस्था मार्फत राजनीतिक भागबन्डा गरि प्रतिनिधि चयन गरिएको छ । कुनै राजनीतिक दलमा आवद्ध नभएको स्वतन्त्र उपभोक्ता दमौली खानेपानी समितिको नयाँ नेतृत्व चुन्ने र चुनिने प्रक्रियाबाट बन्चित हुने भएका छन् ।
अर्का उपभोक्ता एवं नेकपा एमाले व्यास नगर कमिटिका कार्यवहाक अध्यक्ष तुल्सीराम पाण्डेले पनि १० बराबर १ जना प्रतिनिधि हुने व्यवस्था लोकतन्त्र विपरित हुुने बताए । सबै प्रतिनिधिले आफ्नो नेतृत्व छान्न पाउनु लोकतन्त्रको आधारभुत मान्यता भएको भन्दै पाण्डेले सबै प्रतिनिधिलाई मताधिकारबाट बन्चित गरेर समितिले आफ्नो असक्षमता प्रर्दशन गरेको बताए । सबै प्रतिनिधिले मतदान गर्न पाएको भए सही नेतृत्व चयन हुने भन्दै पाण्डेले यसले निर्वाचनको पारदर्शीता पनि झल्काउने बताए । यस्तो काममा सिन्डिकेट गर्नु उचित नहुने पाण्डेले बताए ।
समितिको नयाँ नेतृत्वको लागि माधव अधिकारी, बुद्धिमान श्रेष्ठ, टुकबहादुर हमाल र राजकुमार श्रेष्ठले दावी गरेका छन् । हालसम्म नेपाली काँग्रेस समर्थकहरुको बाहुल्यता रहेको कारण समितिमा नेपाली काँग्रेसको जिल्ला नेतृत्वले जसलाई चाह्यो उसैले समितिको अध्यक्ष बन्ने अवसर प्राप्त गर्नेछ । हाल स्वतन्त्र उपभोक्ताहरुको बाहुल्यता बढ्न थालेपछि आफ्नो हातबाट नेतृत्व गुम्न नदिन काँग्रेस समर्थकको नेतृत्व रहेको उपभोक्ता समितिले विधान संशोधन गरि १० बराबर १ जना प्रतिनिधि आउने अलोकतान्त्रिक व्यवस्था गरेको केही उपभोक्ताहरुले आरोप लगाएका छन् ।
यता दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष माधव अधिकारीले बिगतमा कोरम नपुग्ने समस्याको कारण विधान संशोधन गरि साधारण सभामा भाग लिने प्रतिनिधिको संख्या घटाईएको बताए । गत वर्ष भएको साधारणसभामा कोरम नपुगेको कारण साधारणसभा बदर गरि पाउँ भनि केही उपभोक्ताले प्रमुख जिल्ला अधिकारी समक्ष लिखित उजुरी समेत गरेको भन्दै उपाध्यक्ष अधिकारीले यस पटक देखी त्यस्तो अवस्था आउन नदिन विधान संशोधन गरि प्रतिनिधि चयन हुने व्यवस्था मिलाईएको बताए ।
धेरै प्रतिनिधि हुँदा कोरम अवस्था हुने तथा व्यवस्थापन गर्न पनि गाह्रो हुने र निर्वाचन प्रक्रिया पनि झन्झटिलो र खर्चिलो हुने हुँदा छिटो, छरितो र सहज हुने व्यवस्था मिलाईएको अधिकारीले बताए । दमौलीकै भादगाउँ खानेपानी तथा खैरेनीटारको खानेपानी संस्थामा पनि यस्तो व्यवस्था रहेको भन्दै अधिकारीले देशका अन्य ठुला खानेपानी उपभोक्ता समितिमा पनि यस्तो व्यवस्था रहेको दावी गरे ।
दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत हालसम्म ३७७० धारा जडान भएपनि उपभोक्ता परिचय पत्र भने करिब २७ सय उपभोक्ताले मात्र लगेको उपाध्यक्ष अधिकारीले जानकारी दिए । तिनै २७ सय उपभोक्ता मध्येबाट २५२ जना प्रतिनिधि चयन भएको र कार्य समितिका १४ जना गरि २६६ जना साधारणसभाको प्रतिनिधि हुनेछन् । वडाबाट छानिएका २५२ जना मध्ये १२४ जना महिला प्रतिनिधि छन् ।