नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव, एकै दिन बन्दिपुरमा हजारौं पर्यटक

Devghat Online

शेयर गरौ

बन्दिपुर, बैशाख १

नेपाली नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारबाट सडक खाना महोत्सव सुरु भएको छ ।

बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर इकाइ र रेबान तनहुँको संयुक्त आयोजनामा सडक खाना महोत्सव सुरु भएको हो । महोत्सव आगामी वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।

नयाँ वर्षलाई जिल्लाभित्रै बसेर स्वागत गर्न र बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने प्रमुख लक्ष्यसहित सडक खाना महोत्सव आयोजना गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए ।

सडक खाना महोत्सवका अवसरमा विविध जातजातिका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । मगर, नेवार, गुरुङ, ब्राम्हणलगायत अन्य जातजातिका सांस्कृतिक नाचलाई सडक खाना महोत्सवमा समावेश गरिएको प्रधानको भनाइ छ ।

आन्तरिक पर्यटकको अलवा बन्दीपुरमा विदेशी पर्यटकको पनि उत्तिकै भीड हुन्छ । यहाँ विशेषगरी चिनियाँ पर्यटकको संख्या बढी छ । नेपाल आएका अधिकांश पर्यटक एक रात बस्नका लागि बन्दीपुर आउने गरेका छन् ।

यसवर्ष बन्दीपुरमा २६ देशबाट पर्यटक आएको तथ्याङ्क छ । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको जनाइएको छ ।

बन्दीपुरमा आयोजना हुने सडक खाना महोत्सवले यहाँको पर्यटनमा टेवा मिल्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार गन्तव्यबारे जानकारीहरू नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्चलगायतका भाषामा तयार पारिएको छ । बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्कलगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक–फरक भाषामा तयार भएको छ ।

सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमशृङ्खला देखिन्छ ।

बन्दीपुरमा होटल संघसँग आबद्ध साना–ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ । नयाँ वर्षको पहिलो दिन शनिबार बन्दिपुरमा हजारौं आन्तरिक पर्यटक पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता