देवघाटधाम जेसीजद्वारा भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रम आयोजना

Devghat Online

शेयर गरौ

देवघाट, बैशाख ८

देवघाटधाम जेसीजको आयोजनामा २०८१ को भित्तेपात्रो विमोचन, शाखा अनुगमन तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भयो ।

सो कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटधाम जेसीजलाई देवघाट गाउँपालिकाले आवश्यक सहयोग गर्दै आईरहेको बताए । युवाहरूको नेतृत्व र क्षमता विकासको लागि जेसीजको भुमिका महत्वपूर्ण रहेको भन्दै अध्यक्ष थापाले देवघाटधाम जेसीजको संस्थागत विकासकोलागि शाखाको भवन निर्माणकोलागि पायक पर्ने ठाउँमा जग्गा उपलब्ध गराउने बताए ।

शासन विधिको नभई व्यक्तिको हुँदा गाउँपालिको काममा धेरै अप्ठ्यारो र समस्या भईरहेको भन्दै अध्यक्ष थापाले विधिको शासन सन्चालन हुने हो भने सबै समस्या समाधान हुने बताए । गाउँपालिकामा आर्थिक समस्या रहेको भन्दै उनले केन्द्रबाट प्राप्त सशर्त अनुदान सम्बन्धित क्षेत्रमै खर्च गर्नुपर्ने तर स्थानीय तहको राजश्व संकलनकोलागि प्राकृतिक श्रोतको उत्खननमा अवरोध भईरहेको बताए ।

स्थानीय तहले राजश्व संकलन गर्न सकेमा विकास निर्माण गर्न सकिने भन्दै अध्यक्ष थापाले नदीजन्य वस्तुको उत्खनन गरेर बिक्रि वितरण गर्न सके करोडौं राजश्व जम्मा हुने बताए । कालिगन्डकीमा नदीबाट उत्खनन् गर्न पाउनुपर्ने भन्दै अध्यक्ष थापाले सर्वोच्च अदालतको फैसलाको व्याख्या हुनुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा नेपाल जेसीज २०२४ की राष्ट्रिय उपाध्यक्ष एवं देवघाटधाम जेसीजकी निरुपित उपाध्यक्ष स्वप्ना पौडेल भन्डारीले देवघाटधाम जेसीजले निकै राम्रो काम गर्दै आएको बताइन् । देवघाटधाम जेसीजको नेपाल जेसीजले अनुगमन गरिरहेको र शाखालाई प्रोत्साहन गर्दै आएको बताईन् ।

देवघाटधाम जेसीजका वर्ष २०२४ का अध्यक्ष रघु मल्लको अध्यक्षतामा आयोजित सो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुँवर, नेपाल जेसीज वर्ष २००६ का राष्ट्रिय उपाध्यक्ष महेशराज भट्टराई, नेपाल रेडक्रस सोसाइटी देवघाट कोषाध्यक्ष माधवप्रसाद उपाध्याय लगायतले मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा देवघाटधाम जेसीजका अध्यक्ष मल्लले वर्ष २०२४ मा देवघाटधाम जेसीजले सम्पादन गरेको कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । सो कार्यक्रमको सन्चालन जेसीजका महासचिव प्रशन्न ढकालले र स्वागत देवघाटधाम जेसीजका उपाध्यक्ष एवं सो कार्यक्रमको संयोजक शिशिर तिवारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू