देवघाट, बैशाख २७
चट्याङ परि घर आगलागी भएका देवघाट गाउँपालिका–४ रातेपानीका तुलबहादुर भुजेलको परिवारलाई देवघाट गाउँपालिकाको तर्फबाट तत्कालिन राहत उपलब्ध गराईएको छ । भुजेलको घरमा गत बैशाख २५ गते बुधबार चट्याङ लाग्दा आगलागी भइ घर पुर्ण क्षति भएको थियो ।
पीडित परिवारलाई देवघाट गाउँपालिकाको तर्फबाट उपलब्ध गराईएको राहत गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ, वडा अध्यक्ष मित्रलाल गुरुङ तथा गाउँपालिकाका विपद शाखाका प्रमुख होमबहादुर भारती लगायतको टोलीले घटनास्थलमा पुगी उपलब्ध गराएको थियो ।
गाउँपालिकाले पीडित परिवारलाई तत्कालको लागि खाद्यान्न सामाग्री, लत्ताकपडा र त्रीपाल उपलब्ध गराएको वडा अध्यक्ष गुरुङले बताए ।
इलाका प्रहरी कार्यालय देवघाटका अनुसार चट्याङबाट तुलबहादुर भुजेल सहित पत्नि सेनिमाया भुजेल र बुहारी जुनकीरी भुजेल सामान्य घाइते भएका छन् भने खरको छानो भएको एकतले कच्ची घर पुर्णरुपमा ध्वस्त भएको छ ।
त्यसैगरि घरभित्र रहेको १६ हजार रुपैयाँ, ४ बोरा चामल, २ बोरा गहुँ, एक बोरा तोरी, लत्ताकपडा र भाडाँ समेत गरी करिब २ लाख बराबरको क्षती भएको जनाईएको छ ।