दमौली, बैशाख २७
नेकपा एमाले तनहुँको दशौं जिल्ला अधिवेशन शुक्रबारबाट दमौलीमा हुने भएको छ । अधिवेशनको शुक्रबार दिउँसो १ बजे व्यास नपा–३ देउरालीनगर स्थित गुम्बा भवनमा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको एमाले तनहुँले जनाएको छ । जिल्ला अधिवेशनको पुर्वसन्ध्यामा बिहिबार हालको जिल्ला कमिटिको अन्तिम बैठक राखिएको थियो । सो बैठकले अधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिने अध्यक्ष श्रीप्रसाद श्रेष्ठको राजनीतिक र सांगठानिक प्रतिबेदन तथा उपाध्यक्ष एवं आर्थिक विभाग प्रमुख हरिराज कडेंलको आर्थिक तथा लेखा परिक्षण प्रतिबेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।
साथै सो बैठकले जिल्ला अधिवेशनकोलागि जिल्लाभरबाट २८ जना प्रतिनिधि मनोनित समेत गरेको छ । अधिवेशनमा मनोनित २८ समेत, आयोजक, जिल्ला सल्लाहाकार, वडा भुगोल तथा जनवर्गिय संगठन र मोर्चा संगठन समते गरि कुल ५८७ जना प्रतिनिधि सहभागी हुनेछन् ।
जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो जिल्ला कमिटिको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी समितिका सदस्य किरण गुरुङले योगदान, क्रियाशिलता तथा निरन्तरताको समेत मुल्यांकन गरि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्ने बताए ।
बैठकमा पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज तिलक महत, केन्द्रीय सदस्यद्वय भगवती न्यौपाने र सविता रसाईली, केन्द्रीय सल्लाहाकारद्वय एकबहादुर राना र विश्वबन्धु भण्डारी, पुर्व केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, गन्डकी प्रदेश कमिटिका सचिव धनन्जय दवाडी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
अधिवेशनले आगामी तिन वर्षकोलागि एमाले तनहुँको लागि नयाँ नेतृत्व चयन गर्नेछ । सबै जसो नेताहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सुझाव दिएका छन् । सर्वसम्मत हुन नसके निर्वाचनको माध्यमबाट पनि नेतृत्व चयन गर्न सकिनेछ ।
अध्यक्षमा हालका उपाध्यक्ष हरिराज कंडेलको सम्भावना रहेको बताईएको छ । त्यसैगरि उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदिपराज अधिकारी तथा उपसचिवमा खिम कुमालको सम्भावना अधिक रहेको एमालेका कार्यकर्ताहरुले बताएका छन् ।
जिल्ला कमिटि सदस्यमा पनि अधिकांश हालकै अनुहार दोहोरिने सम्भावना रहेको छ । चुनाव भएमा अध्यक्ष पदमा पुर्व प्रदेश सदस्य विष्णुभक्त सिग्देलले पनि उम्मेदबारी दिने बताईएको छ ।