आबुँखैरेनी, जेठ ७
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल मन्दिर परिसरमा रहेका पोखरीका माछा मर्ने क्रम नरोकिएपछि क्षमापूजा गरिएको छ । माछा मर्ने क्रम नरोकिएपछि सोमबार बिहान क्षमा पूजा गरिएको हो ।
मन्दिरमा परम्परागत रुपमा चली आएको रीतिरिवाज अनुसार बोका बलि दिई क्षमापूजा गरिएको हो । मन्दिरका पुजारी, आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, वडा नं. १ का वडा अध्यक्ष प्रेम तमु लगायत जनप्रतिनिधि, कर्मचारी, आँधीमूल क्षेत्र संरक्षण समितिका पदाधिकारी तथा स्थानीयबासीको विशेष उपस्तिथिमा क्षमा पूजा गरिएको आँधीमूल क्षेत्र संरक्षण समितिका अध्यक्ष हिमाल थापाले जानकारी दिए ।
आँधिमुल मन्दिरमा पुजा गर्न र यहाँको सानको रूपमा रहेको माछा हेर्नलाइ पनि मानिसहरु आँधिमुल आउने गर्दछन । माछा बिनाको आँधिमुल अधुरो हुने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका थिए । गत सोमबारदेखि मन्दिर परिसरमा रहेका माछा धमाधम मर्न थालेपछि यहाँ क्षमापूजा गरिएको हो ।
यहाँ रहेको पोखरीका माछा मर्नुको कारण ‘एसिड डेथ’ रहेको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले जनाएको छ । गत सोमबारदेखि पोखरीमा रहेका हजारौँ माछा धमाधम मर्न थालेपछि गरिएको परीक्षणअनुसार पानीमा धेरैमात्रामा ‘इकोली’ नामक जीवाणु फेला परेको प्रयोगशालाले पुष्टि गरेको छ ।
पोखराबाट शुक्रबार प्राप्त पोष्टमार्टम रिपोर्ट अनुसार पानीमा धेरैमात्रामा ‘इकोली’ नामक जीवाणु रहेको र प्रारम्भिक ‘एसिड डेथ’ भएको उल्लेख गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा.सन्तोष देवकोटाले जानकारी दिए ।
उनले भने, ‘प्राविधिक टोली पुगी उक्त पोखरीको पानी, माछा र माछाका लागि खुवाइएको दानाको नमुना सङ्कलन गरेर पोखरा पठाइएको थियो । थप परीक्षणका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर र विषादी परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाइएको छ ।’