दमौलीमा भएको आगलागीमा ७ करोड ६० लाख रुपैयाँको सम्पत्ती क्षती भएको प्रारम्भिक अनुमान, राहत उपलब्ध गराउन माग

Devghat Online

शेयर गरौ

दमौली, जेठ ७

तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरहरुमा गए राति भएको आगलागीको कारण ७ करोड ६० लाखको सम्पत्ती क्षती भएको अनुमान गरिएको छ ।

उक्त सटरहरुमा फलफुल, बेकरी, नाई हाउस, मोवाईल तथा कम्युनिकेसन, बिज भण्डार लगायतका पसलहरु रहेका थिए । ति सबै पसलमा रहेको भौतिक सम्पत्ती गरि ७ करोड ६० लाख रुपैयाँ बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पसल सन्चालकहरुले प्रहरीमा दिएको क्षतीको विवरण अनुसार नै हाल क्षतीको प्रराम्भिक अनुमान निकालिएको प्रहरीले जनाएको छ । क्षतीको विस्तृत विवरण भने एक–दुई दिन भित्रमा आउने बताईएको छ ।

व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका ति सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका थिए । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगलागी निभाइएको थियो । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले सहयोग गरेका थिए ।

विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका सटर भाडामा लगाइएको थियो । यहाँ विभिन्न पसल सञ्चालनमा थिए ।
उक्त आगलागीको कारण भएको क्षती प्रति विभिन्न राजनीतिक दल, वर्तमान तथा पुर्व जनप्रतिनिधि, उद्योग वाणिज्य संघ तथा विभिन्न सरोकारवालाहरुले दुख व्यक्त गरेका छन् ।

नेकपा एमाले व्यास नगर कमिटिले आगलागीको कारण २० वटा व्यवसायीक पसलहरु जलेर ध्वस्त भएको घटनाप्रति दुख व्यक्त गरेको छ । उक्त आगलागीको घटनाको सत्य तथ्य छानबिन गरि पीडितहरुलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनको लागि एमाले व्यास नगर कमिटिले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

गत बर्ष भूपाल हार्डवयेरमा भएको भिषण आगलागी पश्चात सरोकारवालाहरुबीच आगलागी नियन्त्रणको पूर्वतयारी सम्बन्धि व्यापक चर्चा भएता पनि फेरि उहि समस्या र कमजोरी दोहोरीएको र शक्तिशाली पानीको फोहोरा हान्ने दमकल लगायत बजार भित्र दमकलमा पानी भर्न रिजर्भ ट्याङ्की व्यवस्थापन बारे कुरामा मात्र सिमित भएको जनाएको छ । जसको कारण फेरि एकपटक दमौली बजार आगोको शिकार हुनुका साथै करोडौंको क्षति हुन पुगेको जनाईएको छ ।

एमाले व्यास नगर कमिटिका कार्यवहाक अध्यक्ष तुल्सीराम पाण्डेले निकालेको विज्ञप्तिमा नयाँ नयाँ व्यवसायीक भवनको योजना बनाउने व्यास नगरपालिकालाई अत्याधुनिक दमकल व्यवस्थापन गर्न गम्भीर ध्यानाकर्षण गराउदै बजार भित्र रिजर्भ ट्याङ्कीको व्यवस्था गर्न आग्रह गरिएको छ । ताकि आगामी दिनमा आउन सक्ने यस प्रकारका भवितव्यलाई सहज ढंगले नियन्त्रणमा लिन सकियोस् र व्यास नगर बासीको जनधनको रक्षा गर्न सकियोस् भन्ने एमालेले अपेक्षा गरेको छ ।

यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले उक्त आगलागीको घटना प्रति दुख व्यक्त गरेको छ । रास्वपा जिल्ला कार्य समितिका सभापती विश्व बास्तोलाले निकालेको विज्ञिप्तमा दमौली बजारमा तिन वर्ष पहिले भएको आगलागीको घटनाको पिडा सेलाउन नपाउँदै पुनः ठुलो भौतिक सम्पत्ती क्षती हुने गरि आगलागी हुन गएको जनाईएको छ ।

दुर्घटना आफैमा अचानक हुने भएतापनि विगता दुर्घटनाबाट पाठ सिकेर क्षती न्युनीकरणका लागि पुर्व तयारी गर्नुपर्नेमा सम्बन्धित निकायले पुर्व तयारी गर्न नसक्दाको परिणाम अहिलेको आगलागीको घटना भएको जनाईएको छ । यस आगलागीले करोडौंको क्षती हुन पुगेको र २२ परिवारको रोजीरोटी नै समाप्त भएको हुँदा के कसरी आगलागी भएको हो सो को सत्यतथ्य छानविन गरि पीडितलाई राहत उपलब्ध गराउन र व्यवसाय पुनस्थापनाको लागि तुरुन्त पहल गर्न सम्बन्धित निकाय समक्ष माग गरिएको छ ।

पुर्व गृहमन्त्री गोविन्दराज जोशीले विज्ञप्ति प्रकाशन गरि आगलागीबाट भएको क्षती प्रति दुख व्यक्त गरेका छन् । आगलागीको घटनाले आफुलाई दुखी बनाएको भन्दै जोशीले प्राकृतिकध प्रकोप घटनाहरु हामीले चाँहदैमा नहुने हैन तर त्यसलाई हुन नदिन पटक पटकका घटनाहरुबाट पनि हामीमा चेतना नआएको आभाष भएको जनाएका छन् ।

गए राती १२ः३० बजे आगलागी घटनाको धेरै पछि पनि सबै मुकदर्शक भएर रहनु पर्ने अवस्थाको जिम्मेवारी पनि हामी आफैको भएको भन्दै जोशीले सदरमुकाम दमौलीमा समेत उपयुक्त दमकल नहुनु अत्यन्त दुःखदायी कुरा भएको जनाएका छन् । अब पनि अरु कसैबाट आशा गर्नु मुर्खता हुने भन्दै उनले तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले आवश्यक रकम उठाएर पनि अब आईन्दा यस किसिमको दुर्बलताको अवस्था नआओस् भन्ने उचित व्यवस्था गर्नु जरुरी रहेको यसको लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसैगरि यसैगरि तनहुँ उद्योग वाणिज्य संघ र संघको दमौली बजार इकाईले संयुक्त विज्ञप्ति प्रकाशित गरि उक्त आगलागीको घटनाप्रति दुख व्यक्त गरेका छन् । संघका अध्यक्ष बैकुण्ठ मिश्र र बजार इकाईका सभापति शुकनारयण मल्लले संयुक्त विज्ञप्ति प्रकाशित गरि आगलागीबाट भएको क्षतिको विवरण संकलन गरी तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ–‘व्यास नगरपालिका वडा नम्बर ३ ट्राफिक चोक स्थित फलफूल लाईनमा रहेका सटरहरूमा भिषण आगलागि हुन गई अत्यन्तै ठूलो भौतिक क्षती हुनुका साथै त्यस आसपासमा रहेका थुप्रै व्यवसायीहरूको सटरहरू पूर्ण रूपमा क्षती हुन गएको दुखद् घटना प्रति तनहुँ उद्योग वाणिज्य संघ एवं तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाई समिति परिवार गहिरो दुख व्यक्त गर्दछ। आगलागिबाट भएको क्षतिले व्यवसायीहरूलाई पर्न गएको विषम परिस्थितीमा तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाई समिति अन्तरगत रहेका सदस्य व्यवसायीहरू लगायत अन्य पीडित सम्पूर्ण व्यवसायीहरू प्रति भावनात्मक सहिष्णुता प्रकट गर्दछौं ।’

साथै यस भिषण आगलागिलाई नियन्त्रणमा लिन सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार सहित कृतज्ञता प्रकट गर्दै विषम क्षतिको उचित मूल्याङकन गरी शीघ्र क्षतिपूर्तिको लागि नेपाल सरकार लगायत अन्य सम्बन्धित निकायसँग आवश्यक रचनात्मक सहयोग प्रदान गरिदिनुहुनका साथै क्षती भएका व्यवसायिक सटरहरू यथाशीघ्र पुर्ननिर्माण गरी व्यवसाय सञ्चालन गर्न सहज वातावरण सृजना गरी सहयोग गरिदिनुहुन समेत विज्ञप्तिमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मनोहर माविको भुपु विद्यार्थी समाजको अक्षयकोषमा डा.पौडेलले गरे ५० हजार सहयोग

दमौली, असोज २० भानु नपा–८ महन्ते हटिया स्थित भुपु विद्यार्थी समाजको अक्षयकोषमा विद्यालयका पुर्व विद्यार्थी