दमौली, जेठ ७
दमौलीको ट्राफिक चोक स्थित फलफुल लाइनको व्यवसायीक सटरहरुमा गएराती भएको आगलगाीबाट पीडित भएकाहरुलाई तत्काल क्षतीपुर्ती उपलब्ध गराउन प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरुले माग गरेका छन् । सांसदहरुले छुट्टाछुट्टै प्रेस विज्ञप्ति तथा सामाजिक सन्जाल मार्फत धारणा सार्वजनिक गरि आगलागी प्रति दुख व्यक्त गर्दै पीडितहरुलाई तत्काल क्षतीपुर्ती उपलब्ध गराउन माग गरेका छन् ।
पुर्वमन्त्री तथा बारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले आगलागीबाट पीडित भएकाहरुलाई तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । सांसद श्रेष्ठले सोमबार बिहान प्रेस विज्ञप्ति प्रकाशित गरि आगलागीबाट फलफूल लाइनमा अधिकांश पसलहरु जलेर नष्ट भएको घटनाले आफुलाई अत्यन्तै दुखी र मर्माहत बनाएको बताएका छन् । उक्त आगलागीमा करोडौं मूल्य बराबरको सम्पत्ति क्षति भएको भन्दै सांसद श्रेष्ठले आगलागीको घटनाको छानबिन गरि पीडितहरुलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनको लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउदै क्षतिपूर्तिको लागि आफ्नो तर्फबाट पनि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘राष्ट्रिय राजनीतिमा छिनछिनमा विकसित भईरहने घटनाक्रम र सम्माननीय प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन लाग्नुभएको सन्दर्भको कारण यस दुखको समयमा पीडितहरुसँग भेट गरि स्थलगत रुपमा घटनाको वास्तविक जानकारी लिने र दुख साट्ने कार्यमा प्रतक्ष्यरुपमा उपस्थित हुन नसकेकोमा म मेरा आदरणीय दमौलीबासी दाजुभाइ तथा दिदिबहिनीहरुमा क्षमा चहान्छु र जतिसक्दो छिटो पीडितहरुसँग भेट गर्न आउने प्रतिबद्धता व्यक्त गर्दछु ।’ सांसद श्रेष्ठले विज्ञप्तिमा भनेका छन् । यो दुखको समयमा कुनै राजनीतिक आग्रह र पुर्वाग्रह नराखी घटनाको यथार्थ र वास्तविक छानबिन गरि पीडितलाई उचित क्षतिपूर्तिको पहल गर्न स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीति दलहरु सबैमा पुर्वमन्त्री समेत रहेका श्रेष्ठले अनुरोध गरेका छन् ।
यसैगरि पुर्वमन्त्री तथा तनहुँ क्षेत्र नम्बर २ का सांसद शंकर भण्डारीले आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सांसद भण्डारीले एक विज्ञप्ती जारी गरी उक्त घटनाप्रति दुःख व्यक्त गरेका हुन् । सांसद भण्डारीले आगलागीबाट भएको क्षतिको विवरण संकलन गरी तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग समेत गरेका छन् । घटनाको जानकारी पाउने बित्तिकै स्थानीय प्रशासन र प्रहरीसँग समन्वय गरी उद्धार कार्य सहज बनाउन पहल गरेको भण्डारीले जनाएका छन् ।
यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापती एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्लेले दमौलीको मुख्य बजार पृथ्वी राजमार्गमा पर्ने फलफुल चोकमा भएको आगलागीको खबरले निकै दुखी भएको जनाएका छन् । उक्त घटनाको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र प्रहरी उपरीक्षक अपिल बोहरासँग कुरा गरेको यस बारेमा गृहमन्त्रीलाई भेटेर जानकारी गराउने सांसद वाग्लेले जनाएका छन् ।
आगो नियन्त्रणमा लिन खटिनुहुने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय युवा, तनहुँ हाइड्रोपावर, मुग्लिन–पोखरा सडक विस्तार आयोजना र व्यास नगरपालिकालाई विशेष धन्यवाद भन्दै सांसद वाग्लेले मानवीय क्षति नभएपनि धेरै सटरहरु ध्वस्त भएकोमा तुरुन्तै मुचुल्का उठाई सम्पत्ति नोक्सानीका आधारमा आवश्यक राहत दिन जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रह गरेका छन् ।
यस्तै राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले दमौली बजार स्थित फलफुल पसल लाइनमा मध्यरातमा भएको आगलागीको खबरले अत्यन्तै दुःख लागेको भन्दै समस्या समाधानमा एक्यवद्धता प्रकट गर्न र पीडितलाई राहतको लागि सम्बन्धित सबै तहको सरकार एवम् निकायको ध्यान जाओस् भन्ने अपेक्षा गरेकी छिन् ।
राष्ट्रिय सभाका सांसद पदम परियारले पनि उक्त घटना प्रति दुख व्यक्त गर्दै पीडितहरुलाई तत्कालै उचित राहत रा क्षतीपुर्ती उपलब्ध गराउन माग गरेका छन् । गन्डकी प्रदेश सभाका सांसद अशोककुमार श्रेष्ठले पनि उक्त घटना प्रति दुख व्यक्त गर्दै पीडितहरुलाई तत्कालै उचित राहत रा क्षतीपुर्ती उपलब्ध गराउन माग गरेका छन् ।