देवघाट, जेठ १३
देबघाट गाउँपालिका वडा नम्बर १ आँपटारमा निर्माणाधिन मान्द्रे खोला सिंचाई आयोजनाको देबघाट गाउँपालिकाद्वारा अनुगमन गरिएको छ ।
देबघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाको नेतृत्वमा वडा नम्बर १ का वडा अध्यक्ष मणिराज गुरुङ, गाउँपालिका पुर्वाधार शाखा प्रमुख तिर्थ ढुङ्गाना एवं जलश्रोत तथा सिंचाइ डिभिजन कार्यालय तनहुँका प्राबिधिक टोलिसहितले हालै उक्त आयोजनाको अनुगमन गरेका थिए ।
जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय, तनहुँले आ.ब. २०७८÷७९ मा सुरुवात गरेको उक्त योजना हाल ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । उक्त योजनाको लागि ०७८÷०७० मा ३४ लाख ६७ हजार ६५० रुपैया ९० पैसा कार्यालयले भुक्तानी गरेको र त्यसबाहेक ३ लाख ८५ हजार ४१० रुपैयाँ १६ पैसाको स्थानीयले श्रमदान गरेका थिए । त्यस्तै गरि आ.व. ०७९÷०८० मा १४ लाख ३३ हजार ६१९ रुपैयाँ ८८ पैसा भुक्तानी गरेको र १ लाख ५९ हजार ३४१ रुपैयाँ बराबरको स्थानीयले श्रमदान गरेका थिए ।
त्यस्तै चालु आव ०८०÷८१ को बजेटमा १५ लाख बराबरको बजेट बिनियोजन भई घर–घरमा धारा पुर्याउनका निम्ति कार्य भइराखेको देवघाट गाउँपालिकाका पुर्वाधार शाखा प्रमुख ढुङ्गानाले बताए ।
देबघाट गाउँपालिका वडा नम्बर १ आँपटारमा धेरै जग्गा खेतीयोग्य जमिन भएतापनि सिंचाईको अभाबका कारणले जमिन बाँझो राख्नुपरेको छ । मान्द्रे खोलामा बाँध बनाई इन्टेक निर्माण गरि ३६५० मिटर लामो पाइप लाइन निर्माण कार्य गरि आँपटारमा करिब १ लाख लिटरको टंकी निर्माण गरि पानी संकलन गरिएको छ ।
सुख्खा जमिनमा सिंचाई सुविधा आएपछि स्थानीयले तरकारी बाली र धान खेती गर्न पाउँदा स्थानीय निकै खुसी भएको वडा अध्यक्ष गुरुङ्गले बताए । योजना अनुगमनको क्रममा गाउँपालिकाका अध्यक्ष थापाले जुनसुकै योजना पनि गुणस्तरीय र समयमै निर्माण सम्पन्न हुनु पर्नेमा जोड दिए ।