देवघाट, असार ६
सामुदायिक वनको अवधारणा नेपालको एउटा मौलिक अवधारणा हो । संसारभरि वन संरक्षण र संवद्र्धनमा सरकार र राज्यपक्ष असफल भइरहेको सन्दर्भमा नेपालको वन विनाशलाई रोक्न तथा प्राकृतिक विपतलाई न्यूनीकरण गर्न र स्थानीय समुदायलाई आवश्यक पर्ने घाँस, दाउरा, काठ र वनपैदावरको सहज आपूर्ति व्यवस्थापन गर्नका लागि नेपालमा सामुदायिक वनको अवधारणा ल्याईएको हो ।



सामुदायिक वनको माध्यमबाट स्थानीयरुपमा काठ, दाउरा, घाँस आदि वनपैदावारको आधारभूतरुपमा आवश्यकता पूरा गर्न मद्दत गरेको छ भने सामुदायिक वन शासनपद्धतिका कारण समुदायमा समावेशी नेतृत्वको समेत विकास भएको छ । यसले समुदायको आर्थिक उन्नतीमा पनि उल्लेख्य भुमिका खेलेको छ । सामुदायिक वनको अवधारणाको कारण वनको क्षेत्रफलमा वृद्धि भएको छ भने सामुदायिक वन पद्धतिका कारणले वनको संरक्षण र क्षेत्र विस्तार भएको छ ।
सामुदायिक वनले वन पैदावरको आवश्यकता मात्र पुरा गरेको छैन, यसले पर्यापटनको सम्भावना पनि बढाएको छ । सामुदायिक वन क्षेत्रको अवलोकनका लागि धेरै पर्यटकहरु आउने गरेका छन् । तर पनि वन क्षेत्रमा आवश्यक पूर्वाधारको कमीका कारण वन क्षेत्रका पर्यटकहरु वृद्धि भने हुन सकिरहेका छैनन् । जैविक विविधताको दृष्टिकोणले पर्यापर्यटन महत्वपूर्ण मानिन्छ । मुखले पर्यटन प्रवद्र्धनमा सामुदायिक वनको भुमिका महत्वपुर्ण भनिएपनि व्यवहारमा भने त्यो कार्यान्वयन हुन सकिरहेको छैन ।
पर्यटनका माध्यमबाट वातावरण र जैविक विविधताको संरक्षणका साथै स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा सहयोग पु¥याउने वातावरणमैत्री पर्यटनलाई नै पर्यापर्यटन वा इकोटुरिजम भनिन्छ । वन्यजन्तु, वनस्पति तथा सांस्कृतिक आकर्षणयुक्त गन्तव्यमा फस्टाउने पर्यटन नै पर्यापर्यटन हो । पछिल्लो समय पर्यापर्यटनलाई वातावरणीय सचेतना वृद्धि तथा पर्यावरण अनुसन्धानको क्षेत्रमा पनि महत्वपूर्ण मानिँदै आएको छ । पर्यापर्यटनको आधारभूत सिद्धान्तले पर्यटनका माध्यमबाट जैविक तथा सांस्कृतिक विविधताको संरक्षण, दिगो उपयोग तथा सामाजिक आर्थिक लाभको समन्यायिक वितरणमा जोड दिन्छ । सामुदायिक वनहरुले पर्यापर्यटनलाई जोड दिन सक्ने हो भने राम्रो आम्दानीको श्रोतको रुपमा विकास गर्न सक्छन् ।
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समुहले सामुदायिक वन भित्र पर्यापर्यटनलाई जोड दिएको छ । १७७.०४ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वन क्षेत्र भित्र पर्यापर्यटनको विकासको लागि पुर्वाधारहरु तथा उद्यानहरु निर्माण गरिएको छ । यसैगरि वन क्षेत्र भित्र शारीरिक व्यायमको लागि जिम पार्क, भ्यु टावर, जैविक पौडी पोखरी र श्रीखन्ड बाटिका निर्माण गरिएको मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरीले बताए ।
त्यसैगरि उक्त वनको क्षेत्रमा स्थानीय गुरुङ समुदायको चिहान तथा सन्सारी माईको थान समेत रहेको छ । उक्त सामुदायिक वनको कार्यक्षेत्र भित्र ३३९ घरधुरीका १५९५ जनसंख्या रहेको छ ।
वनमा चराचुरूङ्गी अवलोकन, उद्यान तथा पार्कमा विश्राम, जिम पार्कको शारीरिक व्यायम, भ्यु टावरको अवलोकन जंगल घुम्ने, पैदलयात्रा गर्ने आदिका कारण सर्वसाधरणको आकर्षण बढेको अध्यक्ष गिरीले बताए । पर्यटकको रोजाइमा सामुदायिक वन क्षेत्र बनाउन सके स्थानीयस्तरमै थप रोजगारीका अवसर, स्थानीय जीवनस्तरमा सुधार र सामुदायिक वनको संरक्षण, सम्वद्र्धन र दिगोपना ल्याउन सकिन्छ ।
उक्त सामुदायिक वनले पर्यापर्यटन मात्र नभई वन क्षेत्रका उपभोक्ताहरुको शैक्षिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पनि विभिन्न सहयोग गर्दै आएको समुहका अध्यक्ष गिरीले बताए । अपाङ्गता भएका तथा फरक क्षमता भएका व्यक्तिहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने तथा वन क्षेत्र भित्रका खेलाडीहरुलाई खेलकुँद सामाग्री वितरण तथा विभिन्न सचेतना मुलक तालिम पनि आयोजना गर्दै आएको अध्यक्ष गिरीले बताए ।