खड्गदेवी मन्दिरः बन्दिपुरको सांस्कृतिक, ऐतिहाँसिक र पुरातात्विक सम्पदा

Devghat Online

शेयर गरौ

बन्दिपुर, असार ६

बन्दिपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरको बारेमा दुईवटा कथ्य चर्चामा छ । पहिलो कथा छः पाल्पाली राजा मणिमुकुन्द सेन प्रथम देवीको भक्ति तथा तपस्यामा तल्लिन भए । उनले आफ्नो अन्तिम कालमा बन्दिपुरदेखि पश्चिम रहेको मुकुश डाँडामा आई तपस्या गरेका थिए । १५ औं शताब्दिमा प्रख्यात राजा सेन तपस्या गरेको ऐतिहासिक स्थललाई मुकुन्देश्वरीको डाँडा पनि भन्ने चलन छ । उनले राज्य विस्तार गर्दा प्रयोग गरेका खड्गलाई भगवतिको शक्तिको रूपमा मानी प्रतिष्थापन गरिएको हुँदा यो मन्दिरको नाम खड्गदेवी मन्दिर रहन गएको इतिहासमा उल्लेख छ । तनहुँका अन्तिम राजा हरकुमारदत्त सेनले मणिमुकुन्द सेनको खड्ग र तरबारलाई मुल देवी मानी बन्दिपुरमा प्रतिस्थापन गरेका हुन् ।

तनहुँ राज्यका अन्तिम राजा हरकुमार दत्त सेन तनहुँसुरबाट लखेटिएर बन्दिपुर हुँदै देवघाटतर्फ लागेका थिए । देवघाटतर्फ जाने क्रममा उनीसँग रहेको उनको पिता÷पुर्खा मणिमुकुन्द सेनको मूल तरबार (खड्ग) बन्दिपुरको एक भट्टराईको घर झप्रिफाँटमा छाडेर गए । पछि त्यो खड्गले विभिन्न रुप लिएर वितण्डा गरेको अवस्थामा त्यो खड्गबारे खोजीनीति गरियो । त्यसपछि त्यो खड्ग तनुहुँको राजाको हो भन्ने भयो । त्यसपछि मुल राजधानी तनहुँसुर दरवारमा फर्काउने कुरा भयो । तीन पटकसम्म तनहुँसुर दरबारमा ल्याउँदा पनि त्यो खड्ग झप्रीमै फर्किएको किंवदन्ती छ । त्यसपछि झप्रीमा नै खड्गदेवी मन्दिर स्थापना गरेर खड्गलाई स्थापना गरियो । पछि भने बन्दिपुरमा खड्गदेवी मन्दिर स्थापना गरि व्यवस्थित गरिएको छ । भगवान शिवको आर्शिवादले त्यो खड्ग त्यहाँ रहेको समेत उल्लेख गरिन्छ ।

यसैगरि अर्काे कथा छः नेपाल एकीकरणको क्रममा वि.सं. १८३९ मा तनहुँ र लमजुङ राज्यलाई गोरखामा विलय भएपछि बन्दिपुरमा गोश्वारा अड्डाको स्थापना भयो । यसपछि बन्दिपुरमा बडाहाकिमको मुकामको साथै ब्यारेक पनि रहन थाल्यो । सो समयदेखि नै खड्गलाई भगवती शक्तिको रूपमा स्थापना गरि पूजा सञ्चालन गरिएको भन्ने किंवदन्ती पनि छ ।

मन्दिर स्थापनामा जुन कथालाई मानेपनि खड्गदेवी मन्दिर बन्दिपुरको सांस्कृतिक, ऐतिहाँसिक र पुरातात्विक सम्पदा हो भन्नेमा दुईमत छैन । यस मन्दिरमा फूलपातिको दिनमा खड्ग यात्रामा प्रयोग गरिने देवीको गहना वि.सं. १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको गहनामा अंकित झल्लरमा उल्लेख छ । मन्दिरमा पूजाआजाका लागि वि.सं. १९१६ मा एक गुठीको स्थापना गरि सञ्चालन सुरू गरिएको नेपाल अधिराज्यमा तनहुँ नामक डिल्लीराम मिश्रको पुस्तकमा उल्लेख गरिएको छ ।

खड्गदेवी मन्दिरमा हरेक दशैंको फूलपातिका दिन विशेष मेला लाग्छ । मन्दिरको खड्गलाई बजारमा शोभायात्रा गरिन्छ । खड्ग शोभायात्रा गर्दा बन्दिपुरका सबै जातजातिका व्यक्ति सहभागी हुन्छन् । शोभायात्रामा हजारौंको संख्यामा उपस्थिति हुने गरेको मन्दिर व्यवस्थापन समितिले बताएको छ ।

मन्दिर पहिले ढुंगै ढुंगाबाट निर्माण गरिएको थियो । पछि राजा चन्द्र शमशेरको पालामा दरबार शैलीमा मन्दिर रुपान्तरण गरियो । अहिले भने त्यहाँ तामाको छाना राखिएको छ । मन्दिर बन्दिरपुर गाउँपालिका कार्यालयको छेउमै रहेको छ । बन्दिरपुर बजारबाट करिब २ मिनेटमै मन्दिर पुगिन्छ ।

बन्दिपुर गाउँपालिकाको कार्यालय परिसरसंगै रहेको उक्त ऐतिहासिक, पूरातात्विक र सांस्कृतिक महत्वको तथा सबैको साझा एवं सबै जातजाति बीचमा एकताको प्रतिकको रूपमा चिनिने खड्गदेवी मन्दिरमा पुजा आरधना तथा दर्शनका लागि हरेक दिन बिहान ७ बजे देखि ११ बजे सम्म र दिउँसो २ बजे देखि ५ बजे सम्म मन्दिर खुल्ला रहने गरेको छ । बन्दिपुर बजारको बीच भागबाट दुई मिनेट उत्तरतर्फ उक्लेपछि खड्गदेवी मन्दिर पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न

गुरु पुर्णिमाको अवसरमा महेश सन्यास आश्रमद्वारा गुरुनिर्वाण महोत्सव आयोजना

देवघाट, साउन ६ गुरुपुर्णिमाको अवसरमा देवघाटमा रहेको महेश सन्यास आश्रमले ब्रह्मलीन सन्तशिरोमणि श्री १००८ डा.