सेतीनदीमा बन्दै गरेको पुलको पिल्लर बाढीले ढाक्यो, पुलको भविष्यमाथी चिन्ता

Devghat Online

शेयर गरौ

दमौली, असार २४

तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि बन्दै गरेको मोटरेबल पुल शनिबार आएको बाढीले ढाकेको छ । पुलको बिचको पिल्लर शनिबारको बाढीले डुबाएको छ । निर्माणाधिन उक्त पुलको पिल्लर बाढीले डुबाएपछि यसको भविष्यमाथी चिन्ता गरिएको छ ।

एक दिन परेको पानीले आएको बाढीले पुलको पिल्लर नै डुबाउने अवस्था बनेपछि केहीदिन लगातार पानी परेपछि आउने बाढीले पुलको अवस्था के होला भन्ने प्रश्न उठ्न थालेको छ । पुलको भविष्यको चिन्तासँगै यसको डिजाइनप्रति नै शंका गर्न थालिएको छ । नदिमा कस्तो बाढी आउँछ र बाढिले पुललाई छुन सक्छ की सक्दैन भन्ने कुनै अनुमान नै नगरि पुलको पिल्लर ठड्याईएको छ ।

व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद सहित वि.सं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गरिएको थियो । सम्झौता अनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेको हुन्थ्यो । तर निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुलको काम अलपत्र अवस्थामा छ । उक्त पुलको काम हालसम्म २५ प्रतिशत मात्रै रहेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

सम्झौताको अवधिमा विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो । उक्त पुलको हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ असोजसम्म म्याद थप गरिएको पुर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको रु ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ को लागतमा पुल निर्माण भईरहेको हो । पुल निर्माणका लागि वि.सं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौसँग सम्झौता भएको थियो । कार्यालय प्रमुख आचार्यका अनुसार हालसम्म आठ करोड बजेट निकासा भइसकेकोछ । एक सय ५४ मिटर लामो रहने पुलको चौडाई ९.५० मिटर रहनेछ । पाइल फाउण्डेशनमा निर्माण हुने पुल स्टील टूसको हुनेछ ।

पुल निर्माणपछि व्यास नगरपालिका ऋषिङ गाउँँ पालिकाका सर्वसाधारण लाई आवतजावतमा सहज हुनेछ । हाल सोही ठाउँमा झोलुङ्गे पुल रहेको छ । त्यसको करिब एक किलोमिटर माथि तनहुँ जलविद्युत आयोजनाको सहयोगमा पक्की पुल निर्माण गरिएको छ । त्यहाँबाट दमौली आउनुपर्दा करिब तीन किलोमिटर दूरी तय गर्नुपर्छ । तर अहिले पुल निर्माण भइरहेको ठाउँबाट दमौली आउन पाँच सय मिटर दूरी पनि छैन ।

त्यहाँ हाल रहेको झोलुङ्गे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि केही वर्ष पहिला जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी गरेको थियो । तर उक्त आदेश पूर्ण रुपमा पालन भएको छैन । हाल यहाँका सर्वसाधारणले झोलुङ्गे पुलबाट नै दुई पाङ्ग्रे सवारी साधन वारपार गर्दै आएका छन् ।

झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको जोखिम उत्तिकै छ । साँघुरो पुल त्यसमाथि मोटरसाइकल गुडाइदिँदा वारपार गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको छ । स्थानीयवासीले वर्षौदेखि सेतीनदीमाथि पक्की पुलको माग गर्दै आएका थिए । काम सुरु हुँदा खुसी भएका यहाँका स्थानीयवासी अहिले कामले गति नलिँदा निराश छन् । त्यसमाथी बाढीले पुल नै डुबाउने अवस्था बनेपछि सर्वसाधरणहरु झन चिन्तामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरलाई राष्ट्रिय रुपमा परिचित गराउन तीज सप्ताहन्न उत्सव सफलः सांसद न्यौपाने

बन्दीपुर, भदौ २२ राष्ट्रिय सभाकी सांसद एवं राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँको