असार ४, भानु
दुवै मृगौलाले काम नगरेको अवस्थामा उपचार गर्दै आएका तनहुँको भानु नगरपालिका वडा नं २ का राजेश मझकोटीको उपचारको लागी नेकपा एमाले भानु नगर कमिटिको सक्रियतामा आर्थिक सहयोग प्रदान गरिएको छ ।
भानु नगरपालिका वडा नं २ घर भई अमेरिकामा बस्ने केशवराज लोहनीको सक्रियतामा ६० जना नेपालीबाट संकलन भएको ३ लाख १८ हजार २ सय ५० रुपैयाँ र भानु नगर कमिटिको संकलनमा रु ३१ हजार ५ सय १५ समेत गरि ३ लाख ४९ हजार ७ सय ६५ रुपैयाँ रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको नेकपा एमाले भानु नगर कमिटी अध्यक्ष शंकर रानाभाटले जानकारी दिए।
उक्त रकम मृगौला पीडित राजेशकी श्रीमती सरिता मझकोटीलाई हस्तान्तरण गरिएको हो । नेकपा एमाले भानु नगर कमिटी अध्यक्ष शंकर रानाभाटले लोहनी संग पहल गरी उनले अमेरिका बसोबास गर्दै आएका नेपालीहरु संग आर्थिक संकलन गरेको जानकारी दिए ।
३९ बर्षिया राजेश मझकोटी २ बर्षदेखि दुवै मृगौला फेल भएर उपचार गराइरहेका छन् । उनी दमौलीस्थित अस्प्तालमा डाइलसिस गराइरहेकी छन् । ‘काठमाडौंका पोखरा र चितवनका अधिकांश अस्पताल चहारें । पैसा सकियो रोग निको भएन’ उनले भनिन्, ‘सहयोग पाए उपचार गरेर बाँच्ने ठूलो रहर छ ।’ सरकारले मृगौला पीडितको डायलिसिस गर्दा शुल्क नलाग्ने भनेपनि महंगोमा इन्जेक्सन र औषधी किन्नुपरेको उनको भनाई छ । सरकारले निशुल्क डायलसिस हुन्छ भनेको छ । औषधि र इन्जेक्सन किन्दा हप्तामा ४ हजार बढी खर्च हुने गरेको छ’ उनले भनिन् ।
पत्नी सरिताले परिवारमा आम्दानीको कुनै स्रोत नभएकाले डायलसिस गर्न पनि गाह्रो परेको बताईन। सबैबाट सहयोग पाएमा पतिलाई मृगौला प्रत्यारोपण गरेर बचाउन चाहेको उनले बताईन ।