दमौली, साउन ६
स्वास्थ्य तथा जनसख्ंया मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रको समस्या समाधानकोलागि नीतिगत र प्रणालीगत सुधारको खाँचो रहेको बताएका छन् । आइतबार सामाजिक सन्जाल मार्फत मन्त्री पौडेलले भने ‘स्वास्थ्य क्षेत्रमा धेरै समस्या र चुनौतीहरू छन्, ती समस्याको एक एक गर्दै समाधान खोज्न र अहिलेको अवस्थालाई सुधार गर्न तथा विकसित हुँदै आएका नयाँ प्रविधि र उपचार विधिहरूको अवलम्बन गर्न नीतिगत र प्रणालीगत सुधारको खाँचो छ ।’



स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि धेरै सल्लाह सुझावहरू प्राप्त भएको भन्दै मन्त्री पौडेलले सबैको सुझाव अनुसार नै, स्वास्थ्य क्षेत्रको सुधार तथा सेवा प्रवाहलाई मर्यादित, पारदर्शी, सहज र सर्वसुलभ बनाउने उद्देश्य रहेको बताए ।
यसका लागि समग्र स्वास्थ्य प्रणालीलाई एकीकृत रुपमा विकास गर्न तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाहरू निर्माण गर्नुपर्ने भन्दै उनले ती योजनाहरू निर्माण गर्न, हामी सबैले आ–आफ्नो स्थानबाट प्रयास गर्न आवश्यक रहेको बताए ।
यसका लागि, स्वास्थ्य क्षेत्रका सरोकारवाला सबैसँग सुझाव सल्लाह लिएर सामूहिक रूपमा योजना बनाएर अघि बढ्ने भन्दै मन्त्री पौडेलले समग्र स्वास्थ्य प्रणाली भित्र रहेका प्रमुख समस्याहरू के–के हुन् ? ती समस्याका सूची भित्र पनि प्राथमिकताका विषय के–के हुन् ? र, तीनको समाधान कसरी गर्ने ? जस्ता सवालहरूको तत्कालीन र दीर्घकालीन समाधानका लागि के– कस्ता योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा सबैकोे रचनात्मक सुझावको अपेक्षा गरेको बताए ।












